कीवर्डहरू -

नचाहिने कलबाट हैरान हुनुहुन्छ ? नम्बर ब्लक नगरी यसरी छुटकारा पाउन सकिन्छ

नचाहिने कलबाट हैरान हुनुहुन्छ ? नम्बर ब्लक नगरी यसरी छुटकारा पाउन सकिन्छ

काठमाडौं । कहिले काहीँ कुनै व्यक्तिले बारम्बार फोन गर्दा हैरानी हुन सक्छ । तर धेरै मानिस त्यस्तो नम्बर सिधै ब्लक गर्न चाहँदैनन्, किनकि ब्लक गरिएको कुरा अगाडिको व्यक्तिलाई थाहा हुने डर हुन्छ ।

यस्तो अवस्थामा स्मार्टफोनको एउटा उपयोगी सेटिङले नम्बर ब्लक नगरी नै ती कलहरूबाट बच्न मद्दत गर्न सक्छ ।

यसका लागि सो नम्बरबाट आउने कलहरूलाई सिधै भ्वाइस मेलमा पठाउने व्यवस्था गर्न सकिन्छ । यस्तो सुविधा धेरैजसो Android स्मार्टफोनहरूमा उपलब्ध हुन्छ ।

ब्लक नगरी भ्वाइस मेलमा पठाउने उपाय

सामान्यतया कसैलाई ब्लक गर्दा फोन गर्ने व्यक्तिले ‘बिजी टोन’ सुन्न सक्छ वा कल तुरुन्तै काटिन्छ । यसले आफूलाई ब्लक गरिएको संकेत दिन सक्छ । तर भ्वाइस मेलमा पठाउने विकल्प प्रयोग गर्दा यस्तो हुँदैन ।

यो सेटिङ सक्रिय गरेपछि सो नम्बरबाट आउने कलमा तपाईंको फोन बज्दैन । बरु कल गर्ने व्यक्तिलाई सिधै भ्वाइस मेलमा सन्देश रेकर्ड गर्ने विकल्प देखिन्छ । उसलाई तपाईं नेटवर्क कमजोर भएको ठाउँमा हुनुहुन्छ वा फोन उठाउन नसक्ने अवस्थामा हुनुहुन्छ भन्ने लाग्न सक्छ ।

भ्वाइस मेल भनेको के हो ?

भ्वाइस मेल भनेको फोन उठाउन नसकेको अवस्थामा कल गर्ने व्यक्तिले आफ्नो आवाजमा छोटो सन्देश रेकर्ड गरेर छोड्न सक्ने सुविधा हो । पछि तपाईंले आफ्नो समयअनुसार त्यो सन्देश सुन्न सक्नुहुन्छ । यसले तपाईंलाई आवश्यक जानकारी पनि मिल्छ र कल गर्ने व्यक्तिलाई पनि असहज महसुस हुँदैन ।

यो सेटिङ कसरी सक्रिय गर्ने ?

यदि तपाईं यो सुविधा प्रयोग गर्न चाहनुहुन्छ भने निम्न चरणहरू अपनाउन सक्नुहुन्छः

  • सबैभन्दा पहिले फोनको सम्पर्क सूचीमा गएर त्यो नम्बर खोल्नुहोस् जसका कलहरू तपाईं लिन चाहनुहुन्न ।
  • स्क्रिनको माथिल्लो दायाँतर्फ रहेको तीनवटा बिन्दु (मेनु) मा ट्याप गर्नुहोस् ।
  • त्यहाँ देखिने “भ्वाइस मेलमा पठाउने” वा “Send to voicemail” विकल्प सक्रिय गर्नुहोस् ।
  • पुष्टि गर्न “ठीक” विकल्पमा ट्याप गर्नुहोस् ।

आइफोनमा के विकल्प छ ?

यो सुविधा धेरैजसो एन्ड्रोइड फोनमा उपलब्ध भए पनि आईएसमा सामान्यतया यस्तो प्रत्यक्ष विकल्प हुँदैन । एप्पलका आईफोन प्रयोगकर्ताले भने “Silence Unknown Callers” जस्ता विकल्प प्रयोग गरेर अपरिचित नम्बरबाट आउने कलहरू मौन बनाउन सक्छन् ।