एआई कम्पनी एन्थ्रोपिकले नयाँ मोडल सोनेट ४.५ (Sonnet 4.5) सार्वजनिक गरेको छ । कम्पनीले यसलाई विश्वकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी गरेको छ।
मे महिनामा कम्पनीले ओपस ४ र सोनेट ४ सार्वजनिक गरेको थियो। करिब ६ महिनापछि आएको नयाँ संस्करण सोनेट ४.५ ले आफ्ना पूर्ववर्ती मात्र नभई, महँगो ओपस ४.१ र प्रतिस्पर्धी मोडलहरू जस्तै गूगलको जेमिनाइ २.५ प्रो र ओपन एआईको जीपीट ५ भन्दा उत्कृष्ट नतिजा दिएको एन्थ्रोपिकको भनाइ छ।
ओएस वर्ल्ड नामक वास्तविक कम्प्युटर कार्य परीक्षण सूटमा सोनेट ४.५ ले ६१.४ प्रतिशत स्कोर गर्दै नयाँ रेकर्ड कायम गरेको छ, जुन ओपस ४.१ भन्दा १७ प्रतिशत अंकले बढी हो।
नयाँ मोडलले बहु-चरणीय प्रोजेक्टहरूमा लगातार ३० घण्टाभन्दा बढी काम गर्न सक्ने क्षमता देखाएको छ। सुरुवातमा ओपस ४ ले करिब ७ घण्टा मात्र निरन्तर काम गर्न सक्थ्यो। यो उपलब्धि एन्थ्रपिकले निर्माण गर्न चाहेको ‘एजेन्टिक प्रणाली’को दिशामा महत्त्वपूर्ण मानिएको छ।
सुरक्षाका दृष्टिले समेत सोनेट ४.५ कम्पनीको अहिलेसम्मकै सुरक्षित मोडल भएको दाबी गरिएको छ। एन्थ्रपिकका अनुसार यसमा व्यापक सुरक्षा तालिम दिइएको छ, जसका कारण यसले चापलुसी गर्ने, धोका दिने, शक्ति खोज्ने वा भ्रामक धारणा उत्प्रेरित गर्ने प्रवृत्ति निकै कम देखाएको छ। साथै, ‘prompt injection attack’ विरुद्धको सुरक्षा पनि थप बलियो बनाइएको छ।
नयाँ मोडललाई एन्थ्रपिकले ‘एआई सेफ्टी लेभल थ्री’ अन्तर्गत ल्याएको छ, जसमा रासायनिक, जैविक वा आणविक हतियारसम्बन्धी सम्भावित खतरनाक सामग्री रोक्न फिल्टरहरू राखिएका छन्।
यसैसँगै, कम्पनीले आफ्नो क्लाउड उत्पादन स्ट्याकमा जीवनस्तर सुधार गर्ने सुविधा पनि थपेको छ। क्लाउड कोडमा नयाँ टर्मिनल इन्टरफेस र ‘चेक प्वाइन्ट्स’ नामक सुविधा थपिएको छ, जसले प्रयोगकर्तालाई प्रगति सुरक्षित गर्न र आवश्यक परे अघिल्लो अवस्थामा फर्कन मद्दत गर्छ। यसैगरी, ‘फाइल क्रियसन’ सुविधा अब सबै प्रो प्रयोगकर्ताका लागि उपलब्ध भएको छ र क्लाउड फर क्रोम विस्तार पनि सुरु गरिएको छ।
एपीआई मूल्य भने परिवर्तन गरिएको छैन। सोनेट ४.५ प्रयोग गर्दा १० लाख इन्पुट टोकनका लागि ३ डलर र त्यति नै आउटपुट टोकनका लागि १५ डलर तोकिएको छ।
एन्थ्रोपिकको यो घोषणा कम्पनीका लागि सफल सेप्टेम्बरको अन्त्य भएको छ। गत हप्तामै माइक्रोसफ्टले क्लाउड मोडललाई कोपाइलट ३६५ मा थपेको थियो भने, त्यसको एक दिनमै ओपन एआईले समेत आफ्नो प्रतिस्पर्धी एन्थ्रोपिकले कार्यसम्बन्धी कामका लागि उत्कृष्ट एआई उपलब्ध गराएको स्वीकार गरेको थियो।