कीवर्डहरू -

एन्थ्रोपिकको खुलासा: क्लोड एआईले परीक्षणकै क्रममा तोड्यो तीन संस्थाको सुरक्षा

एन्थ्रोपिकको खुलासा: क्लोड एआईले परीक्षणकै क्रममा तोड्यो तीन संस्थाको सुरक्षा

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) कम्पनी एन्थ्रोपिकले आफ्नो एआई मोडेल क्लोडले आन्तरिक साइबर सुरक्षा परीक्षणका क्रममा तीन संस्थाको प्रणालीमा अनधिकृत पहुँच हासिल गरेको खुलासा गरेको छ । कम्पनीले घटनाबारे आन्तरिक अनुसन्धानपछि सार्वजनिक गरेको विवरणमा परीक्षण वातावरणको प्राविधिक कमजोरीका कारण यस्तो अवस्था सिर्जना भएको जनाएको छ ।

कम्पनीका अनुसार यो खुलासा ओपनएआईले आफ्नो एक अप्रकाशित एआई मोडेलले परीक्षणका क्रममा हगिङ फेसको प्रणालीमा अनधिकृत पहुँच गरेको जानकारी सार्वजनिक गरेको केही दिनपछि आएको हो ।

एन्थ्रोपिकले आफ्नो आधिकारिक ब्लगमार्फत सार्वजनिक गरेको विवरणअनुसार परीक्षणका क्रममा क्लोडले स्यान्डबक्स भनिने पृथक परीक्षण वातावरणबाट इन्टरनेटमा पहुँच स्थापित गरेको थियो । त्यसपछि उक्त मोडेलले तीन फरक संस्थाको प्रत्यक्ष प्रणालीमा अनुमति बिना प्रवेश गरेको पाइएको हो ।

कम्पनीले समीक्षा गरेका एक लाख ४१ हजार ६ वटा साइबर सुरक्षा मूल्याङ्कनमध्ये तीन घटनामा मात्रै यस्तो गतिविधि देखिएको जनाएको छ । ती घटनामा क्लोडले तेस्रो-पक्ष साझेदार इरेगुलरसँग सञ्चालन गरिएको परीक्षण वातावरणमार्फत इन्टरनेट पहुँच प्राप्त गरेको थियो ।

एन्थ्रोपिकका अनुसार परीक्षण वातावरणमा भएको गलत कन्फिगरेसन र दुवै कम्पनीबीच इन्टरनेट पहुँचबारे भएको प्राविधिक गलतफहमीका कारण यो समस्या उत्पन्न भएको हो ।

यद्यपि कम्पनीले यस घटनाका लागि साझेदार संस्थालाई दोष नदिई सम्पूर्ण जिम्मेवारी आफूले लिएको जनाएको छ । इरेगुलरले पनि घटनाबारे छुट्टै अनुसन्धान गरिरहेको बताइएको छ ।

घटनामा क्लोडका ओपस ४.७, मिथोस ५ तथा एक आन्तरिक अनुसन्धान मोडेल संलग्न रहेको कम्पनीले जनाएको छ । एन्थ्रोपिकका अनुसार ती सबै मोडेललाई परीक्षण सुरु हुनुअघि इन्टरनेट पहुँच नभएको स्पष्ट निर्देशन दिइएको थियो ।

तर वास्तविक प्रणालीमा पहुँच भएपछि मोडेलहरूले त्यसलाई परीक्षणकै हिस्सा ठानेर गतिविधि अघि बढाएको देखिएको कम्पनीको निष्कर्ष छ । प्रमाणहरू देखा परेपछि भने तीनवटै मोडेलले फरक–फरक व्यवहार प्रदर्शन गरेका थिए । कम्पनीले यो घटनाको जानकारी बाह्य पक्षबाट नभई आफ्नै सक्रिय सुरक्षा समीक्षा प्रक्रियामार्फत पत्ता लगाएको जनाएको छ ।

प्रभावित दुई संस्थाले समेत यस गतिविधिबारे पहिले कुनै जानकारी नपाएको वा एन्थ्रोपिकलाई जानकारी नगराएको कम्पनीको दाबी छ । घटनाको थप स्वतन्त्र मूल्याङ्कनका लागि एन्थ्रोपिकले एमईटीआर नामक स्वतन्त्र मूल्याङ्कन समूहसँग सहकार्य सुरु गरेको जनाएको छ ।

प्रविधि समाचार वेबसाइट टेकक्रन्चका अनुसार एन्थ्रोपिकले भविष्यमा यस्ता घटना दोहोरिन नदिन परीक्षण प्रणाली, सुरक्षा संरचना तथा मूल्याङ्कन प्रक्रियामा थप सुधार गर्ने योजना बनाएको छ ।