काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा ज्ञान, सीप तथा अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल एआई स्कूल’ (ANAIS 2026) को सातौँ संस्करणका लागि आवेदन खुला गरिएको छ ।
नेपाल एप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले आगामी पुस १३ देखि २३ गतेसम्म एआई स्कूल आयोजना गर्न लागेको हो । आवासीय रूपमा सञ्चालन हुने कार्यक्रम भक्तपुरको सूर्यविनायकस्थित काठमाडौं वर्ल्ड स्कूलमा हुनेछ ।
सन् २०१८ देखि आयोजना हुँदै आएको एआई स्कूलका अघिल्ला संस्करणमा ४१ भन्दा बढी देशका ९२५ भन्दा बढी प्रशिक्षार्थी तथा ९२ भन्दा बढी वक्ता सहभागी भइसकेका छन् । यस वर्ष नेपालसहित विश्वभरबाट २०० भन्दा बढी सहभागी र २० भन्दा बढी अन्तर्राष्ट्रिय एआई विज्ञको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा एआईसम्बन्धी विशेष व्याख्यान तथा प्रयोगात्मक प्रयोगशाला सत्रसँगै ह्याकाथन आयोजना गरिनेछ । सहभागीबीच अनुभव तथा ज्ञान आदानप्रदानका लागि एकदिने पदयात्रा समेत राखिएको छ ।
यस वर्षको कार्यक्रम मेसिन लर्निङका आधारभूत अवधारणा, जियोमेट्रिक डीप लर्निङ, न्युरो–सिम्बोलिक एआई, वर्ल्ड मोडल्स, जेनेरेटिभ मोडलिङ तथा समाज र उद्योगमा एआईको प्रभावकारी प्रयोगजस्ता समसामयिक विषयमा केन्द्रित हुनेछ ।
कार्यक्रममा अक्सफोर्ड विश्वविद्यालय, स्ट्यानफोर्ड विश्वविद्यालय, भ्राई युनिभर्सिटी आम्सटरडम, आईआईटी कानपुर, टीयू भियना, सिंगापुरको एनटीयू, क्यानडाको मिला इन्स्टिच्युट, काठमाडौं विश्वविद्यालय र नामीलगायतका संस्थाका प्राध्यापक तथा अनुसन्धानकर्ताले सहजीकरण गर्नेछन् ।
वक्ताका रूपमा प्रा. फ्रान्क भ्यान हार्मेलन, प्रा. माइकल ब्रोन्स्टाइन, सह-प्रा. आशुतोष मोदी, सह-प्रा. इस्माइल सिलान, उप-प्रा. मनोज शाक्य, डा. विशेष खनाल, डा. अलेक्ज्याण्डर टोङ र डा. सौरव झालगायतका विज्ञ सहभागी हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा महिला, सीमान्तकृत समुदाय तथा काठमाडौं उपत्यकाबाहिरका प्रतिभालाई विशेष प्राथमिकता दिँदै छात्रवृत्तिको व्यवस्था गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकले विस्तृत जानकारी तथा अनलाइन आवेदनका लागि anais.naamii.org.np मा जान सक्नेछन् ।
आईसीटी समाचार