कीवर्डहरू -

‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनका लागि आवेदन खुला, कम्तीमा ५० करोड लगानी गर्ने लक्ष्य

‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनका लागि आवेदन खुला, कम्तीमा ५० करोड लगानी गर्ने लक्ष्य

चर्चित बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनका लागि आवेदन आह्वान गरिएको छ। यस सिजनमार्फत विभिन्न व्यवसायमा न्यूनतम ५० करोड रुपैयाँसम्म लगानी गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।

व्यवसाय विस्तारका लागि नयाँ लगानी खोजिरहेका उद्यमीहरू, स्टार्टअपहरू तथा सञ्चालनमा रहेका कम्पनीहरूले कार्यक्रममा आवेदन दिन सक्नेछन्। १८ वर्ष पूरा भएका नेपाली नागरिक वा नेपालमा विधिवत् दर्ता भई सञ्चालनमा रहेका कम्पनीहरू यसका लागि योग्य हुनेछन्। आवेदन दिने अन्तिम समय चैतको दोस्रो हप्तासम्म तोकिएको छ।

आयोजकका अनुसार आवेदन परेका व्यवसायहरूको पहिलो चरणको स्क्रिनिङ चैतभित्रै सम्पन्न गरिनेछ भने वैशाखदेखि शोको छायांकन सुरु हुनेछ। सहभागी हुन चाहने उद्यमीले नागरिकता वा पहिचान खुल्ने कागजात, कम्पनी दर्ताको प्रमाणपत्र, सह-संस्थापकहरूको विवरण तथा व्यवसायको हालको आर्थिक अवस्था सम्बन्धी जानकारी अनलाइनमार्फत पेश गर्नुपर्नेछ। पहिले नै अन्य लगानीकर्ताबाट लगानी जुटाइसकेका व्यवसायले पनि थप पुँजीका लागि आवेदन दिन सक्नेछन्।

यस सिजनमा पनि नेपालका प्रतिष्ठित व्यवसायीहरू ‘शार्क’ का रूपमा देखिनेछन्। सहभागी हुने शार्कहरूमा आईएमई ग्रुपका सह-संस्थापक हेमराज ढकाल, निम्बस होल्डिङ्सका निर्देशक आनन्द बगरिया, टोयोटा नेपालकी प्रबन्ध निर्देशक ऋतुसिंह वैद्य, पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ रहेका छन्।

कार्यक्रममा कृषि, खाद्यान्न, उत्पादन, फेसन, स्वास्थ्य, पर्यटन तथा सेवा क्षेत्रसहित विभिन्न क्षेत्रका उद्यमीले आफ्ना व्यवसायिक आइडिया प्रस्तुत गर्न सक्नेछन्।

‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजनलाई लगानी, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ। 

थप जानकारी र आवेदनका लागि लिङ्कमा क्लिक गर्नुहोस् ।