सेवा लिनका लागि सम्बन्धित कार्यालयमा भौतिक रूपमा उपस्थित हुनुपर्ने अवस्थामा अब नागरिकले आफ्नो सुविधाअनुसारको मिति र समयको अपोइन्टमेन्ट लिन सक्ने व्यवस्था मिलाइने भएको छ। कार्यसूचीको बुँदा ३२ अनुसार यो प्रणाली आगामी तीन महिनाभित्र नागरिक सेवा केन्द्र तथा सरकारी निकायहरूमा कार्यान्वयनमा ल्याइनेछ।
यो व्यवस्थाले सेवा लिन घण्टौं लाइनमा बस्नुपर्ने, पटक–पटक कार्यालय धाउनुपर्ने र अनावश्यक झन्झट बेहोर्नुपर्ने अवस्थालाई अन्त्य गर्ने अपेक्षा गरिएको छ। नागरिकले आफूलाई अनुकूल पर्ने समय छनोट गर्न पाउने भएकाले सेवा प्रवाह अझ व्यवस्थित, छरितो र पूर्वानुमानयोग्य हुने विश्वास गरिएको छ।
सरकारका अनुसार सेवाको समयतालिका अनलाइनमै उपलब्ध गराइनेछ, जसबाट सेवाग्राहीले पहिले नै आवश्यक समय सुरक्षित गर्न सक्नेछन्। यसले समय, श्रम र स्रोतको बचत मात्र होइन, कार्यालयहरूमा भीड व्यवस्थापन गर्न पनि सहयोग पुग्नेछ।
आईसीटी समाचार