कीवर्डहरू -

बुटवलमा एआरई जीपी रेसिङ क्वालिफायर्स, १६० सीसीका तीन राइडर फाइनलमा

बुटवलमा एआरई जीपी रेसिङ क्वालिफायर्स, १६० सीसीका तीन राइडर फाइनलमा

काठमाडौं । जगदम्बा मोटर्स प्रालिले बुटवलमा एआरई जीपी रेसिङ क्वालिफायर्सको क्षेत्रीय चरण सम्पन्न गरेको छ । टीभीएस मोटर कम्पनीका नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवल क्षेत्रका लागि टीभीएसको आधिकारिक डिलर बालाजी अटोमोबाइल्ससँगको सहकार्यमा तिलोत्तमा ५ मणिग्रामस्थित श्री गौराङ्ग इजी वे ट्रायल सेन्टरमा क्वालिफायर्स आयोजना गरेको हो ।

कार्यक्रममा बुटवल क्षेत्रका उदीयमान राइडर, मोटरस्पोर्ट्स प्रेमी तथा एमेच्योर रेसरको सहभागिता रहेको थियो । सहभागीको संख्या ७६ पुगेपछि दर्ता प्रक्रिया रोक्नुपरेको आयोजकले जनाएको छ । बुटवलमा मोटर स्पोर्ट्सप्रति बढ्दो रुचि र नयाँ प्रतिभाको उपस्थितिले कार्यक्रमप्रति उत्साह थपेको जगदम्बा मोटर्सको भनाइ छ ।

सहभागीले नेपालका दुई रेसर सुजन थापा मगर र नवाङ मोक्तानबाट रेसिङसम्बन्धी प्रशिक्षण लिएका थिए । पूर्व एआरई जीपी नेपाल विजेता तथा मद्रास इन्टरनेसनल सर्किटका विजेता सुजन र ट्र्याक तथा टार्मेक रेसिङमा चार पटककी राष्ट्रिय च्याम्पियन नवाङले सहभागीलाई राइडिङ पोस्चर, कर्नरिङ प्रविधि, लिनिङ, ब्रेकिङ तथा भिजन कन्ट्रोललगायत विषयमा प्रशिक्षण दिएका थिए ।

सैद्धान्तिक प्रशिक्षणपछि सहभागीले प्रशिक्षकको निर्देशनमा अन-ट्र्याक ड्रिलमार्फत सिकेका सीपको अभ्यास गरेका थिए । त्यसपछि १६० सीसी वर्गमा प्रतिस्पर्धात्मक रेस आयोजना गरिएको थियो । उक्त प्रतिस्पर्धाबाट शीर्ष तीनमा रहने राइडर एआरई जीपी ग्रान्ड फिनालेका लागि छनोट भएका हुन् ।

१६० सीसी वर्गमा धीरज बिक ३४.०७ सेकेन्डको समयसहित विजेता बने । अभिषेक पन्थी ३४.६२ सेकेन्डसहित प्रथम उपविजेता र अरिक श्रेष्ठ ३४.८७ सेकेन्डसहित द्वितीय उपविजेता बने । उनीहरूले अब एआरई जीपी ग्रान्ड फिनालेमा बुटवलको प्रतिनिधित्व गर्नेछन् ।

ग्रान्ड फिनालेमा बुटवलसहित काठमाडौं, नेपालगञ्ज, इटहरी र पोखराका क्षेत्रीय क्वालिफायर्सबाट छनोट भएका राइडरबीच प्रतिस्पर्धा हुनेछ । १६० सीसी र २०० सीसी वर्गका विजेताले भारतको मद्रास इन्टरनेसनल सर्किटमा हुने अन्तर्राष्ट्रिय रेसिङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । त्यहाँ उनीहरूले ५० भन्दा बढी देशका राइडरसँग प्रतिस्पर्धा गर्नेछन् । विजेताको यात्रा तथा आवास खर्च जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनी, भारतले व्यहोर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा बालाजी अटोमोबाइल्सका प्रबन्ध निर्देशक विशाल जैसवालले बुटवलबाट प्राप्त प्रतिक्रिया उत्साहजनक रहेको बताए । ७६ जनामा दर्ता रोक्नुपर्नुले यस क्षेत्रमा मोटर स्पोर्ट्सप्रतिको ठूलो उत्साह देखाएको उनको भनाइ छ । पहिलो पटक ट्र्याकमा उत्रिएका राइडरले राष्ट्रिय च्याम्पियनबाट प्रशिक्षण लिएर प्रतिस्पर्धामा सहभागी हुन पाएको भन्दै उनले बुटवलका तीन फाइनलिस्टले ग्रान्ड फिनालेमा राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

एआरई जीपी नेपालमा मोटरस्पोर्ट्स संस्कृति विकास गर्ने जगदम्बा मोटर्सको प्रयासअन्तर्गत आयोजना गरिएको हो । कार्यक्रमअन्तर्गत सतुङ्गलस्थित भेहिकल रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा अपाचे ट्र्याक एक्सपेरियन्समार्फत खुला प्रशिक्षण, काठमाडौं, बुटवल, नेपालगञ्ज, इटहरी र पोखरामा अपाचे रेसिङ क्वालिफायर्स तथा उत्कृष्ट राइडरबीच एआरई जीपी ग्रान्ड फिनाले आयोजना गरिनेछ ।

जगदम्बा मोटर्सका अनुसार टीभीएस वान मेक च्याम्पियनसिपमा सहभागी नेपाली रेसरलाई कम्पनीले सहयोग गर्दै आएको छ । यसबाट नेपाली राइडरले अन्तर्राष्ट्रिय सर्किटमा प्रतिस्पर्धाको अनुभव पाउँदै आएका छन् । मद्रास इन्टरनेसनल सर्किटमा सुजन थापा मगरले हासिल गरेको जितलाई पनि कम्पनीले यस प्रयासको उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएस मोटर कम्पनीको आधिकारिक वितरक हो । कम्पनीले देशभरको बिक्री तथा बिक्रीपछिको सेवा सञ्जालमार्फत टीभीएसका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ । साथै, सीप विकास, रोजगारी तथा नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान गर्दै आएको कम्पनीले जनाएको छ ।