कीवर्डहरू -

नेपालबाट थ्रीजी प्रविधि विस्थापित हुँदै, एनसेल र टेलिकमले यसै वर्ष सेवा बन्द गर्ने

नेपालबाट थ्रीजी प्रविधि विस्थापित हुँदै, एनसेल र टेलिकमले यसै वर्ष सेवा बन्द गर्ने

काठमाडौं । नेपालका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक एनसेल र नेपाल टेलिकमले पुरानो पुस्ताको मोबाइल प्रविधि थ्रीजी (3G) सेवा पूर्ण रूपमा बन्द गर्ने तयारी गरेका छन् । नयाँ प्रविधिमा नेटवर्क क्षमता विस्तार र सेवा गुणस्तर सुधार गर्ने उद्देश्यले दुवै कम्पनीले थ्रीजी विस्थापनको प्रक्रिया अघि बढाएका हुन् ।

निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सन् २०२६ डिसेम्बर अर्थात् पुस २०८३ भित्र देशभर थ्रीजी सेवा बन्द गर्ने लक्ष्य राखेको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि चालू आर्थिक वर्ष २०८३/८४ भित्रै यो सेवा पूर्ण रूपमा हटाउने योजना बनाएको छ ।

एनसेलले ९९२ नेटवर्क साइटबाट हटायो थ्रीजी
एनसेलले देशभर सञ्चालनमा रहेका ३ हजार १३९ नेटवर्क साइटमध्ये ९९२ वटाबाट थ्रीजी सेवा हटाइसकेको जनाएको छ । यो कुल नेटवर्क साइटको करिब ३२ प्रतिशत हो ।

कम्पनीका अनुसार बाँकी करिब २ हजार १५० साइटमा सञ्चालन भइरहेको थ्रीजी सेवा पनि चरणबद्ध रूपमा बन्द गरिनेछ । यसका लागि पहिलो चरणमा लुम्बिनी र गण्डकी प्रदेशमा सेवा हटाइनेछ । त्यसपछि बागमती हुँदै मधेस र कोसी प्रदेशका विभिन्न क्षेत्रमा पनि थ्रीजी विस्थापन गरिने कम्पनीको योजना छ ।

एनसेलका सक्रिय ग्राहकको करिब ३ प्रतिशतले मात्रै अहिले थ्रीजी सेवा प्रयोग गरिरहेका छन् । यद्यपि कम्पनीको तथ्यांकअनुसार ४ लाख २० हजारभन्दा बढी ग्राहकसँग अझै थ्रीजी सिम कार्ड छन् ।

एनसेलले आफ्नो फोरजी नेटवर्क देशको करिब ९५ प्रतिशत जनसङ्ख्याको पहुँचमा पुगेको जनाएको छ । थ्रीजी बन्द गरेपछि त्यसका लागि प्रयोग भइरहेको नेटवर्क क्षमता र फ्रिक्वेन्सी स्रोतलाई फोरजी सेवाको विस्तार तथा गुणस्तर सुधारमा उपयोग गर्ने कम्पनीको लक्ष्य छ ।

थ्रीजी बन्द भएपनि फोन र एसएमएस सेवा चल्ने
थ्रीजी सेवा बन्द हुँदैमा ग्राहक आधारभूत सञ्चार सुविधाबाट वञ्चित नहुने एनसेलले स्पष्ट पारेको छ । फोरजी सपोर्ट नगर्ने पुराना मोबाइल सेट प्रयोगकर्ताले टुजी नेटवर्कमार्फत सामान्य फोन कल र एसएमएस सेवा लिन सक्नेछन् ।

पुरानो सिम प्रयोग गरिरहेका ग्राहकलाई कम्पनीले नि:शुल्क फोरजी सिम उपलब्ध गराउनेछ । सिम परिवर्तन गर्ने ग्राहकले सात दिनसम्म दुई जीबी डेटा पनि निःशुल्क पाउनेछन् ।

त्यसैगरी एनसेलले फोरजी नेटवर्कबाटै भ्वाइस कल गर्न सकिने भोल्टे (VoLTE) प्रविधि प्रयोग गर्न ग्राहकलाई प्रोत्साहित गरिरहेको छ । यो प्रविधिबाट मोबाइल डेटा र भ्वाइस कल दुवै सेवा एउटै फोरजी नेटवर्कमार्फत सञ्चालन गर्न सकिन्छ । यसले कल जोडिने समय घटाउनुका साथै आवाजको गुणस्तरसमेत सुधार गर्छ ।

नेपाल टेलिकमले पनि आर्थिक वर्षभित्रै हटाउने
एनसेलले थ्रीजी विस्थापनको काम अघि बढाइरहेका बेला नेपाल टेलिकमले पनि चालू आर्थिक वर्षभित्र यो सेवा बन्द गर्ने तयारी गरेको छ ।

टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार विश्वका अधिकांश देशमा दूरसञ्चार कम्पनीहरूले पुरानो पुस्ताको मोबाइल प्रविधि हटाएर नयाँ प्रविधिमा लगानी बढाइरहेका छन् । यही प्रक्रियाअनुसार नेपाल टेलिकमले पनि आर्थिक वर्ष २०८३/८४ भित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने गरी काम गरिरहेको छ ।

हाल टेलिकमले २१०० मेगाहर्ज ब्याण्डमा थ्रीजी सेवा सञ्चालन गर्दै आएको छ । यो सेवा बन्द भएपछि ग्राहकले इन्टरनेटका लागि फोरजी र सामान्य भ्वाइस कलका लागि टुजी प्रयोग गर्न सक्ने प्रवक्ता लामिछानेले जानकारी दिएका छन् ।

डेटा र भ्वाइस दुवै सेवा फोरजी नेटवर्कबाटै लिन चाहने ग्राहकले भोल्टे सुविधा प्रयोग गर्न सक्नेछन् । यसबाट दूरसञ्चार सेवाको गुणस्तर सुधार हुने कम्पनीको अपेक्षा छ ।

नेपाल टेलिकमले हालसम्म ७६० वटा स्थानीय तहमा फोरजी सेवा विस्तार गरिसकेको छ । बाँकी स्थानीय तहमा पनि सेवा विस्तार गरी नेटवर्कको पहुँच र गुणस्तर बढाउने योजनामा कम्पनी रहेको लामिछानेले बताएका छन् ।

अझै साढे सात लाखभन्दा बढी थ्रीजी ग्राहक
नेपाल दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्यांकअनुसार नेपाल टेलिकम र एनसेलमा गरी कुल ७ लाख ३८ हजार ७६१ थ्रीजी ग्राहक छन् । यसमा नेपाल टेलिकमका ६ लाख ४२ हजार ७२० र एनसेलका ९६ हजार ४१ ग्राहक छन् । अर्कोतर्फ दुवै कम्पनीका फोरजी प्रयोगकर्ताको सङ्ख्या भने २ करोड ६८ लाख ५८ हजार २६७ पुगेको छ ।

प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमका १ करोड ४७ लाख १४ हजार २७६ र एनसेलका १ करोड २१ लाख ४३ हजार ९९१ फोरजी ग्राहक छन् । फोरजी प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको र थ्रीजी प्रयोगकर्ता घट्दै गएको अवस्थामा दुवै कम्पनीले पुरानो प्रविधि विस्थापनलाई प्राथमिकता दिएका हुन् । यससँगै नेपालमा मोबाइल सञ्चारको सेवा संरचना पनि क्रमश: नयाँ पुस्ताको प्रविधितर्फ रूपान्तरण हुने देखिएको छ ।