नबिल बैंक र एनसेलबीच एक आपसमा डिजिटल कारोबार सेवा प्रदान गर्न सम्झौता भएको छ।
यो सम्झौतासँगै अब एनसेलका बीटूबी (बिजनेस टू बिजनेस) तथा (बीटूसी बिजनेस टू कन्जुमर) ग्राहकले सिम र डाटा खरिद गर्दा भिसा र मास्टर कार्ड प्रयोग गरी नबिल बैंकको पेमेन्ट गेटवे मार्फत रियल टाइम पेमेन्टको सुविधा पाउने भएका छन् ।
यसैगरी नबिल बैंकका एप प्रयोगकर्ताले पनि एनबैंक एपमार्फत एनसेलका सेवा खरिद गर्न सक्ने बताइएको छ।
नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले र एनसेलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि बोल्दै नबिल बैंकका सिइओ ढुंगानाले यो सम्झौताले नेपालको डिजिटल यात्रामा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले दुई संस्थाबिचको यो सहकार्यबाट ग्राहकले विशेष लाभ पाउने उनको भनाइ छ ।
त्यस्तै एनसेलका सिइओ कायुमोभले नबिल र एनसेलको सुमधुर सम्बन्धको प्रशंसा गर्दै आगामी दिनमा यस सुविधालाई थप परिष्कृत गर्ने बताए । अब एनसेलका ग्राहकले नबिलको पीओएस, पेमेन्ट गेटवे र एनबैंक गरी तीनवटै पेमेन्ट प्लेटफर्म प्रयोग गर्न सक्नेछन् ।