ताइवानस्थित प्रविधि कम्पनी असुसले स्मार्टफोन व्यवसायलाई क्रमशः घटाउँदै लैजाने संकेत दिएको छ । कम्पनीका अध्यक्ष जोन्नी शिहको हालैका अभिव्यक्तिहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले असुसले आगामी दिनमा नयाँ स्मार्टफोन मोडेल सार्वजनिक गर्ने योजना नरहेको बताएका छन्।
अध्यक्ष शिहले स्मार्टफोन व्यवसाय पूर्ण रूपमा बन्द गर्ने विषयमा स्पष्ट पुष्टि नगरे पनि यस्तो सम्भावना अस्वीकार भने गरेका छैनन्। तर, हाल बजारमा उपलब्ध असुस स्मार्टफोनहरूले भने नियमित सफ्टवेयर अपडेट र वारन्टी सेवा पाउने स्पष्ट पारेका छन्।
उनका अनुसार असुसको आगामी रणनीति कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धित परियोजनाहरूमा केन्द्रित हुनसक्छ, जसमा रोबोटिक्स र स्मार्टग्लास जस्ता क्षेत्रहरू समावेश हुन सक्ने संकेत दिएका छन्।
यसअघि आएका केही रिपोर्टहरूले असुसले २०२६ मा कुनै पनि नयाँ स्मार्टफोन सार्वजनिक नगर्ने जनाएका थिए। तर अध्यक्ष शिहको पछिल्लो भनाइले यो विराम एक वर्षभन्दा लामो समयसम्म रहन सक्ने सम्भावना देखाएको छ।
यद्यपि स्मार्टफोनबाहेक अन्य उत्पादनहरूमा असुस सक्रिय नै देखिएको छ। यसै महिनाको सुरुवातमा सम्पन्न सीईएस २०२६ प्रविधि प्रदर्शनीमा कम्पनीले डुअल–स्क्रिन ल्यापटप र गेमिङ स्मार्टग्लास जस्ता नयाँ उत्पादनहरू सार्वजनिक गरेको थियो।
आईसीटी समाचार