कीवर्डहरू -

एआई कम्पनीलाई कडा नियमन गर्ने अस्ट्रेलियाको तयारी, सुरक्षा मापदण्ड अनिवार्य गरिने

एआई कम्पनीलाई कडा नियमन गर्ने अस्ट्रेलियाको तयारी, सुरक्षा मापदण्ड अनिवार्य गरिने

काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षा र व्यक्तिगत विवरणको संरक्षणलाई ध्यानमा राख्दै अस्ट्रेलियाले एआई विकासकर्ता कम्पनीमाथि कडा नियमन गर्ने तयारी गरेको छ । सरकारले देशमा सञ्चालन हुने अग्रणी एआई कम्पनीहरूका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्री एन्थोनी अल्बानिजले मंगलबार क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा नयाँ व्यवस्थाबारे जानकारी दिएका हुन् । उनका अनुसार एआई क्षेत्रको नियमन, अनुगमन र सुरक्षा मापदण्ड कार्यान्वयन गराउन छुट्टै नियामक निकाय स्थापना गरिनेछ ।

प्रस्तावित व्यवस्थाअनुसार एआई कम्पनीहरूले आफ्ना मोडेलको स्वतन्त्र मूल्याङ्कन गराउनुपर्नेछ । त्यस्तै, प्रविधिको विकासदेखि व्यावसायिक प्रयोगसम्म आवश्यक सुरक्षा व्यवस्था कायम गर्नुपर्नेछ । एआई प्रणालीमा कुनै सुरक्षा कमजोरी वा साइबर आक्रमण भएको अवस्थामा त्यसको जानकारी तत्काल सरकारलाई दिनुपर्ने व्यवस्था पनि गरिनेछ ।

नियम उल्लङ्घन गर्ने कम्पनीलाई आर्थिक जरिवानादेखि अन्य कानुनी कारबाहीसम्म गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ । प्रधानमन्त्री अल्बानिजले एआई प्रविधि अस्ट्रेलिया र विश्वकै लागि ठूलो अवसर भएपनि यसको विकास मानव नियन्त्रण र जिम्मेवारीभित्र रहनुपर्ने बताए ।

'एआईले हामीलाई नियन्त्रण गर्ने अवस्था आउन दिनु हुँदैन, बरु हामीले नै यसलाई सही दिशामा अघि बढाउनुपर्छ,' उनले भने । सरकारले एआईसँग सम्बन्धित साइबर सुरक्षा घटनाको व्यवस्थापनबारे गरिएको द्रुत समीक्षाका १८ वटा सिफारिससमेत सार्वजनिक गरेको छ ।

गत सेप्टेम्बरमा सुरु गरिएको उक्त समीक्षामा एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिम र त्यसको व्यवस्थापनबारे अध्ययन गरिएको थियो । गत जुनमा ओपनएआईको एउटा मोडेलले अस्ट्रेलियाको सार्वजनिक स्वास्थ्य सेवा प्रणाली मेडिकेयरसँग सम्बन्धित डेटा पोर्टलमा अनधिकृत पहुँच प्राप्त गरेको घटना सार्वजनिक भएपछि सरकारले यस्तो समीक्षा अघि बढाएको थियो ।

समीक्षाले एआई कम्पनीहरूलाई प्रणालीमा देखिने असामान्य गतिविधि र साइबर सुरक्षा घटनाबारे सरकारलाई अनिवार्य जानकारी गराउनुपर्ने सुझाव दिएको छ । नियामकीय दायित्व गम्भीर रूपमा उल्लङ्घन गर्ने कम्पनीमाथि फौजदारी सजायको व्यवस्था गर्न पनि सिफारिस गरिएको छ ।

प्रधानमन्त्री अल्बानिजले समीक्षाबाट प्राप्त सबै १८ वटा सिफारिस सरकारले स्वीकार गरेको बताएका छन् । नयाँ नीतिले अस्ट्रेलियामा एआई विकास तथा प्रयोग गर्ने कम्पनीहरूको जवाफदेहिता बढाउनुका साथै व्यक्तिगत विवरण, सरकारी डेटा र डिजिटल पूर्वाधारको सुरक्षा बलियो बनाउने अपेक्षा गरिएको छ । यससँगै एआई क्षेत्रमा काम गर्ने कम्पनीहरूले प्रविधिको विकाससँगै सुरक्षा मापदण्ड र कानुनी दायित्वसमेत पूरा गर्नुपर्नेछ ।