पूर्वाञ्चल विश्वविद्यालयसँग आवद्ध कान्तिपुर सिटी कलेज (KCC) ले ब्याचलर अफ टेक्नोलोजी इन एआई (B.Tech. in AI) कार्यक्रम सुरू गरेको छ ।
नेपालका उदाउँदो शैक्षिक आवश्यकता र विश्वव्यापी प्रविधि विकासलाई ध्यानमा राखेर कृत्रिम बुद्धिमत्तामा राखेर बीटेक इन एआई कार्यक्रम सुरू गरिएको हो ।
कलेजका अनुसार, कार्यक्रमले विद्यार्थीलाई एआई सम्बन्धी गहिरो ज्ञान, अनुसन्धान, र व्यावहारिक सीप प्रदान गर्नेछ। यसले कृषि, स्वास्थ्य, शिक्षा, वित्त, सञ्चार, र यातायात जस्ता क्षेत्रमा प्रयोग हुने एआई–आधारित समाधान विकास गर्न सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।
कार्यक्रमका मुख्य आकर्षणहरूमा मेसिन लर्निङ, डिप लर्निङ, डेटा साइन्स, बिग डेटा, न्याचुरल ल्याङ्वेज प्रोसेसिङ, कम्प्युटर भिजन र रोबोटिक्स, स्मार्ट एग्रिकल्चर, हेल्थकेयर र फिनटेकमा एआईको प्रयोग रहेका छन् । प्रत्येक सेमेस्टरमा इन्डष्ट्रि प्रोजेक्ट/ रिसर्च प्रोजेक्ट र अन्तिम वर्षमा क्यापटन प्रोजेक्ट अनिवार्य हुनेछ ।
शिक्षण पद्धतिमा प्रोजेक्टमा आधारित सिकाइमा, अनुसन्धान तथा उद्योगसँग सहकार्य, प्रयोगशाला–केन्द्रित सिकाइ, र अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर रहनेछ ।
यसै अवसरमा कलेजले बंगलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक प्रा. डा. मोइनुल इस्लाम जाबेरको उपस्थितिमा ‘बी.टेक. इन एआईको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत आयोजना गरेको थियो । कार्यक्रममा नेपालको डिजिटल अर्थतन्त्र र सामाजिक–आर्थिक विकासमा एआईको सम्भावित भूमिकाबारे विस्तृत छलफल भएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०२५ का लागि भर्ना खुला गरिएको छ। आवेदनका लागि प्लस टु (साइन्स) वा सो सरह उत्तीर्ण हुनुपर्नेछ ।
२५ वर्षभन्दा लामो शैक्षिक इतिहास बोकेको कान्तिपुर सिटी कलेजले हालसम्म १० हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन गरिसकेको छ । कलेजले बी.टेक. इन एआई कार्यक्रममार्फत नयाँ पुस्तालाई भविष्य प्रविधिमा सक्षम बनाउन अग्रसर भएको जनाएको छ।