कीवर्डहरू -

मेटा र रिलायन्सको साझेदारीमा भारतमा पहिलो एआई केन्द्रित डाटा सेन्टर बन्ने

मेटा र रिलायन्सको साझेदारीमा भारतमा पहिलो एआई केन्द्रित डाटा सेन्टर बन्ने

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग विश्वभर तीव्र गतिमा विस्तार भइरहेका बेला फेसबुकको मातृ कम्पनी मेटा र भारतको रिलायन्स इन्डस्ट्रिजबीच गुजरातको जामनगरमा एआई सक्षम डाटा सेन्टर निर्माण गर्ने सम्झौता भएको छ ।

मेटाले भारतमा स्थापना गर्न लागेको यो पहिलो एआई केन्द्रित डाटा सेन्टर हुनेछ । दुवै कम्पनीले सार्वजनिक गरेको जानकारी अनुसार उक्त केन्द्रले जेनेरेटिभ एआई सेवाका लागि आवश्यक उच्च क्षमताको कम्प्युटिङ पूर्वाधार उपलब्ध गराउनेछ ।

भारतमा डिजिटल सेवा, क्लाउड कम्प्युटिङ तथा एआई प्रविधि प्रतिको माग तीव्र रूपमा बढ्दै गएपछि यस क्षेत्रमा ठूलो लगानी गरिएको हो । योजना अनुसार रिलायन्सले आगामी दुई वर्षभित्र १६८ मेगावाट क्षमताको डाटा सेन्टर निर्माण गर्नेछ । मेटाले उक्त पूर्वाधारबाट आवश्यक कम्प्युटिङ क्षमता भाडामा लिएर आफ्ना एआई सेवा सञ्चालन गर्नेछ ।

मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)  मार्क जुकरबर्गले यस परियोजनालाई भारतमा कम्पनीको पहिलो एआई सक्षम डाटा सेन्टर स्थापना गर्ने महत्त्वपूर्ण कदमका रूपमा वर्णन गरेका छन् ।

एक अर्बभन्दा बढी इन्टरनेट प्रयोगकर्ता रहेको भारतमा डाटा भण्डारण, क्लाउड सेवा र एआई प्रविधिको माग निरन्तर बढिरहेको छ । यही सम्भावनालाई ध्यानमा राख्दै विश्वका प्रमुख प्रविधि कम्पनीहरू तथा भारतीय उद्योग समूहहरूले डाटा सेन्टर क्षेत्रमा आक्रामक लगानी गरिरहेका छन् ।

यसअघि गुगल र अमेजनले पनि भारतमा आफ्ना क्लाउड पूर्वाधार विस्तार गरिसकेका छन् । विश्लेषकहरूका अनुसार मेटा र रिलायन्सको यो साझेदारीले भारतलाई विश्वव्यापी एआई तथा डिजिटल पूर्वाधारको प्रतिस्पर्धामा थप बलियो बनाउने अपेक्षा गरिएको छ ।