कीवर्डहरू -

विश्वकै पहिलो ‘एआई सिटी’ बन्दै : ब्राजिलले निर्माण गर्दै कृत्रिम बुद्धिमत्ताको भविष्यको सहर

विश्वकै पहिलो ‘एआई सिटी’ बन्दै : ब्राजिलले निर्माण गर्दै कृत्रिम बुद्धिमत्ताको भविष्यको सहर

काठमाडौं । पछिल्लो केही समययता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग र प्रभाव तीव्र रूपमा बढिरहेको छ । यहीबीच विश्वकै पहिलो एआई सिटी (एआई सहर) निर्माण हुने भएको छ । यो महत्वाकांक्षी परियोजना ब्राजिलको रियो डी जेनेरियो मा विकास भइरहेको हो । विशेष कुरा के भने, यो सहरलाई विशेष रूपमा एआई कम्पनी, अनुसन्धान संस्था तथा हाई-टेक इन्डस्ट्रीका आवश्यकता ध्यानमा राखेर डिजाइन गरिएको छ ।

यस एआई सिटी को उद्देश्य यस्तो उन्नत इकोसिस्टम तयार गर्नु हो, जहाँ प्रविधि, व्यवसाय र मानिसहरूको दैनिक जीवन सहज रूपमा एकअर्कासँग जोडिन सकून् ।

कति ठूलो हुनेछ एआई सिटी ?

उपलब्ध जानकारी अनुसार यो एआई सिटी करिब ९ लाख वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । यहाँ केवल डाटा सेन्टर मात्र होइन, अफिस, होटल, रेस्टुरेन्ट, मार्केट, पार्क तथा अन्य सार्वजनिक सुविधाहरू पनि विकास गरिनेछन् ।

यस परियोजनाको मुख्य उद्देश्य एआई क्षेत्रमा कार्यरत इन्जिनियर, वैज्ञानिक, विद्यार्थी तथा उनीहरूको परिवारका लागि यस्तो स्मार्ट सिटी निर्माण गर्नु हो, जहाँ उनीहरूले काम मात्र होइन, सहज रूपमा बसोबास पनि गर्न सकून् ।

३० भन्दा बढी मोड्युलर डाटा सेन्टर

यस परियोजनाअन्तर्गत ३० भन्दा बढी मोड्युलर डाटा सेन्टर निर्माण गरिनेछन् । ब्राजिलको एलिया डाटा सेन्टर्स (Elea Data Centers) का अनुसार पहिलो चरणमा यी डाटा सेन्टर हरूको कुल क्षमता १.५ गिगावाट हुनेछ । भविष्यमा यसलाई बढाएर ३.२ गिगावाट पुर्‍याउने योजना छ ।

यस परियोजनाबाट म्यानुफ्याक्चरिङ र प्राविधिक क्षेत्रमा करिब १० हजारभन्दा बढी रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । करिब २,५०० करोड रुपैयाँ लगानी भएको यस परियोजनामा ब्राजिल सरकार र एलिया डाटा सेन्टर्सले संयुक्त रूपमा काम गरिरहेका छन् ।

हरियालीलाई पनि उत्तिकै प्राथमिकता

यस एआई सिटीको अर्को विशेषता भनेको वातावरण संरक्षणमा दिइएको प्राथमिकता हो । परियोजनाअनुसार सहरको करिब ६० प्रतिशत क्षेत्र हरियालीका लागि छुट्याइनेछ । यहाँ पार्क, ग्रिन करिडोर (हरित मार्ग) तथा जैविक विविधता संरक्षण क्षेत्र निर्माण गरिनेछन् ।

डाटा सेन्टरहरू पनि यही हरित वातावरणभित्र निर्माण गरिने भएकाले अत्याधुनिक प्रविधि र प्राकृतिक वातावरणबीच सन्तुलन कायम गर्ने लक्ष्य राखिएको छ ।

यसरी, ब्राजिलले निर्माण गर्न लागेको एआई सिटी केवल आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी उद्योगहरूको केन्द्र मात्र नभई प्रविधि, अनुसन्धान, आवास, रोजगारी र वातावरण संरक्षणलाई एकै ठाउँमा समेट्ने भविष्यको नमुना सहरका रूपमा विकास हुने अपेक्षा गरिएको छ ।