कीवर्डहरू -

अदालतको आदेशपछि रिहा भए टुटलका संस्थापक शिक्षित भट्ट

अदालतको आदेशपछि रिहा भए टुटलका संस्थापक शिक्षित भट्ट

टुटलका संस्थापक शिक्षित भट्ट रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंले हिरासतमा राख्न अनुमति नदिएपछि भट्ट हाजिरी जमानीमा रिहा भएका हुन् । 

भट्ट गत बिहीबार टुटलका तत्कालीन साझेदारले भट्टमाथि प्रतिलिपि अधिकारको उलङ्घन र आपराधिक विश्वासघात गरेको भन्दै नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमा परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो । 

आपराधिक विश्वासघात तथा प्रतिलिपि अधिकार ऐनसम्बन्धी कसूरको मुद्दामा जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले प्रतिवादीलाई थुनामा नै राखी मुद्दा अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिएको ठहर गरेको हो ।

‘यसमा यिनै जाहेरवालाले यी प्रतिवादी विरुद्ध उच्च अदालतमा प्रस्तुत मुद्दासँग सम्बन्धित विषयमा दिएको निषेधाज्ञा ०८०–१–००३९ नम्बरको मुद्दा दायर गरी मिति २०८०।०६।२१ मा अन्तरिम आदेशको निरन्तरता नहुने गरी आदेश भैसकेको अवस्था देखिँदा सोही विषयमा यी प्रतिवादीलाई थुनामानै राखी मुद्दा अनुसन्धान गर्नुपर्ने सम्मको अवस्था नदेखिंदा प्रतिवादीलाई हाजिरी जमानीमा राखी मुद्दा अनुसन्धान गर्नु भनी प्रस्तुत आदेश गरिदिएको छ’ अदालतको आदेशमा भनिएको छ।