काठमाडौं । रसुवा भोटेकोशी बाढीले अवरुद्ध भएका एनसेलका २७ मोबाइल साइटमध्ये २४ वटा पुन: सञ्चालनमा आएका छन् । भदौं १४ गतेसम्म तीनवटा साइट अझै बन्द अवस्थामा रहेका छन् ।
एनसेलका अनुसार बन्द रहेका तीन साइटमध्ये दुईवटामा पूर्वाधारमा क्षति पुगेको आशंका गरिएको छ । तीमध्ये एक नुवाकोट र अर्को रसुवागढीको टिमुरेमा रहेको छ ।
रसुवाको अर्को एक साइट भने हेलिकप्टरमार्फत आवश्यक सामाग्री तथा जनशक्ति पुर्याउनु पर्ने भएकाले अझै पुन:स्थापना हुन सकेको छैन । रसुवा, धादिङ र नुवाकोटमा एनसेलका कुल ७८ साइट रहेका छन् । तीमध्ये हाल ७५ साइट सञ्चालनमा छन् ।
नुवाकोटका १६ वटा साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ । हन, कालिकास्थान, चोर्तोल, चुली, बट्टार, विदुर, दुइपिप्ले, तारुक, माडे डाँडा, खड्कभञ्ज्याङ, महामण्डल, गुजेतार, देउराली, बट्टार बजार र पिपलटारलगायतका स्थानका टावर पुन: सञ्चालनमा आएका छन् ।
त्यस्तै, धादिङको गल्छी क्षेत्रमा रहेका खाल्टे, सुनौला बजार र भूमि डाँडाका टावर समेत सञ्चालनमा ल्याइएको छ । रसुवामा पनि कालिकास्थान, धुन्चे, खाल्चेत भञ्ज्याङ, गोल्जुङ र गत्लाङका पाँचवटा टावर पुन: सञ्चालनमा आएका छन् ।
टावर सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज हुनुका साथै उद्धार तथा राहत वितरणमा समेत सहयोग पुगेको एनसेलले जनाएको छ ।
आईसीटी समाचार