काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले केही महिनाअघि स्थगित गरेको ‘ब्लुबुक नवीकरण’ सेवा पुन: सञ्चालनमा ल्याएको छ । कानुनी प्रक्रियासम्बन्धी अन्योलका कारण रोकिएको उक्त सेवा अहिले पुन: नियमित रूपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीन रेग्मीका अनुसार सरकारी कार्यालयमा हुने बिचौलियाको गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीले सञ्चालन गरेको अभियानपछि कानुनी अवस्था स्पष्ट नभएकाले चैतको अन्तिम सातादेखि सेवा अस्थायी रूपमा बन्द गरिएको थियो । अहिले आवश्यक स्पष्टता आएपछि सेवा पुन: सञ्चालनमा ल्याइएको उनले बताए ।
कम्पनीका अनुसार सेवाग्राहीले अब यातायात व्यवस्था कार्यालयमा पुगेर लामो लाइन बस्न, ट्राफिक जाम वा प्रतिकूल मौसमको सामना गर्नुपर्ने आवश्यकता छैन । घरबाटै कानुनी र सुरक्षित तरिकाले सवारी साधनको ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
सेवा लिन इच्छुक ग्राहकले खल्तीको ब्लुबुक सेवा नम्बर ९७१२०४९६१० मा मिस्ड कल गर्न सक्नेछन् । त्यसपछि कम्पनीका प्रतिनिधिले ग्राहकसँग सम्पर्क गरी आवश्यक प्रक्रिया अगाडि बढाउनेछन् । त्यस्तै, ९८०१८९००८३ नम्बरमा ह्वाट्सएपमार्फत सन्देश पठाएर पनि सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
सेवाको अर्को विशेषता भनेको ग्राहकले आफैं कार्यालय धाउनु नपर्ने हो । कम्पनीका प्रतिनिधि ग्राहकले तोकेको स्थानमै पुगेर ब्लुबुक संकलन गर्नेछन् । त्यसपछि सम्बन्धित सरकारी यातायात कार्यालयमा आवश्यक कर भुक्तानी, बीमा नवीकरण तथा ब्लुबुकमा आधिकारिक छाप लगाउने सम्पूर्ण प्रक्रिया पूरा गरिनेछ । सबै प्रक्रिया सकिएपछि नवीकरण गरिएको ब्लुबुक तीनदेखि चार कार्यदिनभित्र ग्राहककै घरमा पुर्याइने कम्पनीले जनाएको छ ।
हाल यो सुविधा काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध छ । सेवा शुल्क पनि पहिलेको तुलनामा घटाइएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे दुवै सवारीका लागि अहिले समान २५० रुपैयाँ सेवा शुल्क तोकिएको छ । यसअघि दुईपाङ्ग्रे सवारीका लागि ३५० रुपैयाँ र चारपाङ्ग्रे सवारीका लागि ५०० रुपैयाँ शुल्क लाग्ने व्यवस्था थियो ।
खल्तीले समयमै ब्लुबुक नवीकरण नगर्दा कानुनअनुसार जरिवाना तिर्नुपर्ने भएकाले समयमै नवीकरण गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । कम्पनीका अनुसार यस सेवाले आर्थिक भारबाट जोगिनुका साथै सरकारी कार्यालय धाउनुपर्ने झन्झट पनि हटाउनेछ ।
मिस्ड कल वा ह्वाट्सएप सन्देशबाहेक सेवाग्राहीले खल्ती एपको ‘What’s New’ सेक्सनमा रहेको 'Bluebook Renewal' विकल्पमार्फत पनि आफैं सेवा अर्डर गर्न सक्ने व्यवस्था गरिएको छ ।
आईसीटी समाचार