कीवर्डहरू -

बीएमडब्लू आइएक्स२ इलेक्ट्रिक एसएभी नेपालमा

बीएमडब्लू आइएक्स२ इलेक्ट्रिक एसएभी नेपालमा

नेपालमा बीएमडब्लू गाडीको एकमात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ ‘बीएमडब्लू आईएक्सट२ एसएभी’ (स्पोर्ट्स एक्टिभिटी भेहिकल) भित्र्याएको छ ।

आकर्षक डिजाइन र स्मार्ट सिस्टमको संयोजन रहेको यस मोडेलले नयाँ प्रविधि र दिगोपन रोज्ने ग्राहकलाई उत्कृष्ट विकल्प प्रदान गर्ने कम्पनीको भनाइ छ ।

बीएमडब्लूले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै बीएमडब्लू आईएक्सटू ई–ड्राइभ–२० सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम १५० किलोवाट र २०४ एचपी (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज ४ सय ३० देखि ४ सय ७५ किलोमिटरसम्म (डब्लूएलटीपी प्रारम्भिक अनुमान अनुसार) रहेको छ ।

कम ऊर्जा खपत (प्रति १०० किलोमिटर १७.२ देखि १५.४ किलोवाट आवर) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाइ प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अन्य बीएमडब्लू इलेक्ट्रिक गाडीहरू जस्तै नयाँ बीएमडब्लू आईएक्स२ मा पनि पाँचौं पुस्ताको बीएमडब्लू ई–ड्राइभ प्रविधि प्रयोग गरिएको छ । यसले २५० एनएम टर्क उत्पादन गर्छ र ८.६ सेकेन्डमा शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति १ सय ७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई–भोल्टेज ब्याट्रीले ६६.५ किलोवाट आवर ऊर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम ऊर्जा खपत गरी अन्य गाडीभन्दा धेरै दुरीसम्म चल्न सक्षम बनाउँछ ।

बीएमडब्लू आईएक्स२ मा चार्जिङका लागि प्रशस्त विकल्प छन् । यसमा रहेको कम्बाइन्ड चार्जिङ युनिटले १९ किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङका लागि १३० किलोवाटसम्मको डीसी चार्जिङ पनि उपलब्ध छ । स्मार्ट ‘थर्मल प्रि–कन्डिसनिङ’ र एडभान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ ।

बीएमडब्लू आईएक्स२ मा लक्जरी इन्टेरियर फिचर समावेश छन्, जस्तै मोका रडको भर्नास्का लेदर सिट, प्यानोरामिक ग्लास रूफ, २–जोन अटोमेटिक एसी, र १२–स्पिकरको हरमन कार्डन साउन्ड सिस्टम छ ।

बीएमडब्लू आईएक्स२ को सुरक्षा र सहायक प्रणाली पनि अत्याधुनिक छन् । सुरक्षित यात्राका लागि यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल (डीबीसी), अटो होल्ड फङ्सन सहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टिग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । साथै, ड्राइभ–अफ एसिस्टेन्ट र अटेन्टिभनेस एसिस्टेन्टले सहरको ट्राफिक र लामो यात्रा दुवैलाई सुरक्षित, सहज र तनाव रहित बनाउँछ ।

काठमाडौं तीनकुनेमा रहेको आफ्नो अत्याधुनिक शोरुमबाट लक्ष्मी प्रिमियम मोटर्सले हाल बीएमडब्लू एक्स१, एक्स२, एक्स३, एक्स४, एक्स७, आईएक्स१ (ब्याट्री इलेक्ट्रिक), आईएक्स३ (ब्याट्री इलेक्ट्रिक), फाइभ सिरिज (प्लग–इन हाइब्रिड), एक्स५ (प्लग–इन हाइब्रिड) र सेभेन सिरिज जस्ता मोडेल उपलब्ध गराइरहेको छ ।