ब्राउजर कम्पनी ओपेराले विभिन्न वेबसाइटहरूमा गएर काम गर्न सक्ने नयाँ एआई एजेन्ट ‘ब्राउजर अपरेटर’ सार्वजनिक गरेको छ ।
डेमो भिडियोमा, कम्पनीले एआई एजेन्टलाई वालमार्टबाट मोजाहरू खोज्ने, क्लबको साइटबाट फुटबल खेलको टिकट सुरक्षित गर्ने र बुकिङ डट कममा यात्रा गर्नको लागि उडान तथा होटल खोज्ने कार्य देखाएको थियो ।
यो सुविधा चाँडै नै यसको फिचर ड्रप कार्यक्रममार्फत प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइने कम्पनीले जनाएको छ । उक्त एजेन्टले केवल निश्चित वेबसाइटहरूमा मात्र काम गर्न सक्छ वा यो फराकिलो खोजीहरू पनि बुझ्न सक्छ भन्ने निश्चित छैन् ।
यसबाहेक, ओपेरामा पहिल्यै यस्तो एआई सुविधा उपलब्ध छ, जसले प्रयोगकर्ताहरूलाई ब्राउज गरिरहेको वेबपृष्ठबारे प्रश्न सोध्ने अवसर दिन्छ ।
कम्पनीका अनुसार, प्रयोगकर्ताहरू ब्राउजर अपरेटरले के गरिरहेको छ भनेर प्रत्यक्ष हेर्न सक्छन् र जुनसुकै बेला नियन्त्रण लिन सक्छन् ।
यसको एजेन्ट प्रतिस्पर्धी सेवाहरूभन्दा बढी सुरक्षित रहेको कम्पनीको दावी छ । किनभने यो क्लाउड-आधारित ब्राउजर वा भर्चुअल मेशिनमा होइन, डिभाइसमै नेटिभ रूपमा सञ्चालन हुन्छ ।