काठमाडौं । विदेशी प्रविधिमाथिको निर्भरता घटाउँदै डिजिटल आत्मनिर्भरता बढाउने प्रयासस्वरूप चीनले केही सरकारी निकायलाई माइक्रोसफ्टको विन्डोज १० को सट्टा स्वदेशमै विकसित लिनक्समा आधारित अपरेटिङ सिस्टम प्रयोग गर्न निर्देशन दिएको छ ।
अगस्ट २१, २०२६ मा सार्वजनिक गरिएको निर्णयलाई चीनले सरकारी सूचना प्रविधि प्रणालीलाई थप सुरक्षित र आत्मनिर्भर बनाउने दिशामा अघि बढाएको कदमका रूपमा हेरिएको छ ।
न्युजबाइट्सका अनुसार, केही सुरक्षा चुनौतीलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको हो । माइक्रोसफ्टले भने आफ्नो कस्टम विन्डोज प्रणालीमा कुनै समस्या नरहेको बताउँदै आएको छ ।
निर्णय सार्वजनिक भएसँगै चीनका स्थानीय अपरेटिङ सिस्टम निर्माता कम्पनीहरूमा समेत यसको प्रभाव देखिएको छ । काइलिन सफ्टवेयर र युनियनटेकका सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको बताइएको छ ।
चीनमा विकसित काइलिन ओएस र युओएस यसअघि नै सरकारी कार्यालय, सरकारी स्वामित्वका कम्पनी तथा संवेदनशील क्षेत्रमा विन्डोजको विकल्पका रूपमा प्रयोग हुँदै आएका छन् । पछिल्लो निर्णयले यस्ता स्वदेशी अपरेटिङ सिस्टमको प्रयोगलाई अझ विस्तार गर्ने संकेत गरेको छ ।
लामो समयदेखिको प्रविधि आत्मनिर्भरताको नीति
सरकारी कम्प्युटर प्रणालीबाट विदेशी प्रविधिको निर्भरता कम गर्ने चीनको प्रयास नयाँ भने होइन । बेइजिङले सन् २०१४ मै सरकारी खरिदमा विन्डोज ८ माथि प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि सन् २०१९ देखि सरकारी कार्यालयमा प्रयोग भइरहेका विदेशी कम्प्युटर क्रमश: स्वदेशी विकल्पबाट प्रतिस्थापन गर्ने प्रक्रिया अघि बढाइएको थियो । सन् २०२२ मा केन्द्रीय सरकारी निकाय तथा सरकारी स्वामित्वका कम्पनीहरूलाई विदेशी ब्रान्डका कम्प्युटर हटाएर स्वदेशी उपकरण प्रयोग गर्न निर्देशन दिइएको थियो ।
पछिल्लो निर्णयलाई त्यही नीतिको अर्को चरणका रूपमा हेरिएको छ । चीनले हार्डवेयरसँगै अपरेटिङ सिस्टम र अन्य सफ्टवेयरमा समेत स्वदेशी विकल्पको प्रयोग बढाउन खोजिरहेको छ ।
तत्काल सबै कम्प्युटर प्रतिस्थापन गर्न चुनौती
यद्यपि सरकारी कार्यालयमा प्रयोग भइरहेका सबै विन्डोज कम्प्युटरलाई तत्काल लिनक्समा आधारित प्रणालीमा स्थानान्तरण गर्न भने सहज हुने छैन । सरकारी कर्मचारीलाई नयाँ अपरेटिङ सिस्टम प्रयोगसम्बन्धी तालिम दिनुपर्ने, पुराना सफ्टवेयर तथा प्रणाली नयाँ वातावरणमा चल्ने वा नचल्ने परीक्षण गर्नुपर्ने र आवश्यक परे नयाँ सफ्टवेयर विकास वा अनुकूलन गर्नुपर्ने चुनौती रहनेछ ।
विशेष गरी सरकारी कार्यालयमा लामो समयदेखि प्रयोग भइरहेका विभिन्न विशेषीकृत सफ्टवेयर विन्डोजमा निर्भर रहेकाले प्रणाली परिवर्तन गर्न समय लाग्ने देखिन्छ । यसका बाबजुद चीनको पछिल्लो कदमले सरकारी सूचना प्रविधिमा स्वदेशी सफ्टवेयरको प्रयोगलाई प्राथमिकता दिने नीति थप बलियो बनाएको छ । यसले चिनियाँ अपरेटिङ सिस्टम निर्माता तथा स्थानीय प्रविधि उद्योगका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार