कीवर्डहरू -

बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो, बन्यो विश्वकै सबैभन्दा ठूलो ईभी कम्पनी

बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो, बन्यो विश्वकै सबैभन्दा ठूलो ईभी कम्पनी

चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडी (BYD) बिक्रीका आधारमा विश्वकै सबैभन्दा ठूलो ईभी कम्पनी बनेको छ। अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लालाई उछिन्दै बीवाईडी पहिलो पटक सर्वाधिक ईभी बिक्री गर्ने कम्पनी बनेको हो।

टेस्लाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ भरि कम्पनीले विश्वभर १६ लाख ४० हजार थान ईभी मात्र बिक्री गरेको छ। सोही अवधिमा बीवाईडीले २२ लाख ६ हजार थान सवारी साधन बिक्री गरेको छ। टेस्लाको बिक्री सन् २०२४ को तुलनामा ९ प्रतिशतले घटेको छ।

टेस्लाको बिक्री घट्नुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग एलन मस्कको राजनीतिक टकराव, साथै ईभी खरिदमा सरकारले दिँदै आएको कर छुट अन्त्य हुनु प्रमुख कारण मानिएको छ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा मस्कले ट्रम्पलाई समर्थन गर्नु, ट्रम्प प्रशासन अन्तर्गत सङ्घीय सरकारलाई चुस्त बनाउने र खर्च कटौती गर्ने विभाग (DOGE) को जिम्मेवारी लिनु, तथा सङ्घीय कर्मचारी कटौतीसम्बन्धी मस्कको अभियानले अमेरिकामा टेस्लाको ब्रान्ड छविमा नकारात्मक असर परेको विश्लेषकहरूको भनाइ छ।

सन् २०२५ को अन्तिम त्रैमासमा मात्रै टेस्लाले ४ लाख १८ हजार २२७ थान ईभी बिक्री गरेको थियो, जुन लगानी अनुसन्धान कम्पनी फ्याक्टसेट को सर्वेक्षणमा विश्लेषकहरूले अपेक्षा गरेको ४ लाख ४० हजारको अनुमानभन्दा कम हो।

सन् २००३ मा स्थापना भएको टेस्लाले लामो समयसम्म ईभी बजारमा अग्रता कायम राख्दै परम्परागत अटो निर्माता कम्पनीहरूलाई उछिनेको थियो। तर पछिल्ला वर्षहरूमा ठूला अटो निर्माता कम्पनीहरूले ईभी क्षेत्रमा ठूलो लगानी बढाएपछि प्रतिस्पर्धा तीव्र बनेको छ। यससँगै चीनले ईभी क्षेत्रमा आक्रामक लगानी गरेपछि टेस्लालाई आफ्नो बजार वर्चस्व जोगाउन कठिन हुँदै गएको देखिन्छ।

सेप्टेम्बरको अन्त्यमा ट्रम्प प्रशासनले ईभी खरिदमा दिँदै आएको ७,५०० डलर कर छुट अन्त्य गरेपछि टेस्लाको बिक्री झनै सुस्ताएको छ। मस्कसँगको सम्बन्ध चिसिँदै गएपछि ट्रम्प खुलेर ईभीको विरोधमा उत्रिएका थिए।

बिक्री घटे पनि टेस्लाका लगानीकर्ता भने चालकविहीन रोबोट ट्याक्सी सेवा र घरका लागि ह्युमनोइड रोबोट विकास गर्ने मस्कको दीर्घकालीन योजनाप्रति अझै आशावादी देखिन्छन्। मस्कले मे महिनामा डज छाड्दै अब आफ्नो सम्पूर्ण समय टेस्लालाई दिने प्रतिबद्धता व्यक्त गरेका थिए।