एनसेलले यही शनिबार (चैत्र १५)बाट सुरु हुने बहुप्रतिक्षित एनसेल नेपाल सुपर लिग (एनएसएल)को अवसरमा काठमाडौंको लैनचौर खेलमैदानमा एक मैत्रिपूर्ण फुटबल खेल आयोजना गरेको छ । तीन टिमको सहभागिता रहेको यो मैत्रिपूर्ण खेलमा नेपाल खेलकुद पत्रकार संघको टिम विजयी भएको छ ।
सेभेन ए साइड फुटबल मैदानमा खेलिएको यस खेलमा पहिलो खेल एनसेल टिम र पुर्व राष्ट्रिय खेलाडी तथा भेटरान फुटबलर अनिल गुरुङको नेतृत्व रहेको कलाकार तथा मोडलहरुको टिमबीच भएको थियो । यसमा एनसेल टिमले अनिल गुरुङको टिमलाई २–१ का साथ १ गोलको अन्तरले हराएको थियो ।
एनसेल एनएसएलको अवसरमा आयोजित यो प्रतियोगिताको फाइनल खेल नेपाल खेदकुद पत्रकार संघको टिम र एनसेल टिमबीच भएको थियो । यस फाइनल खेलमा नेपाल खेदकुद पत्रकार संघको टिमले २–० ले जित हासिल गरेको थियो ।
शनिबारबाट सुरु भई वैशाख १३, २०८२ मा समापन हुने यस फ्रेन्चाइज फुटबल प्रतियोगिता एनएसएल सिजन ३ मा एनसेल प्रमुख प्रायोजकका रुपमा आवद्ध रहेको छ । यस सिजनमा ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स एफसी, पोखरा थन्डर्स एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, झापा एफसी र चितवन गरी नेपालका सात टोलीहरू उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
“एनएसएलसँग एनसेलको यो सहकार्यले खेलकुद क्षेत्रको विकासप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गरेको छ । यो सहकार्य एनसेलको थिम ‘हामी तपाईंकै लागि’मा आधारित छ र सबैले मन पराउने फुटबल खेलले समाजलाई जोड्ने र सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ भन्ने कुरामा हामी विश्वस्त छौं,Æ एनसेलका चीफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने ।
एनसेल एनएसएलले नेपाली फुटबल खेलाडीहरूलाई उत्कृष्टता हासिल गर्न मद्दत गर्नुका साथै यो खेलको विकासमा महत्वपूर्ण योगदान गर्ने विश्वास लिईएको छ । यो साझेदारीले नेपाली खेल क्षेत्रको सुधार र युवाहरूको क्षमता अभिवृद्धिमा एनसेलको निरन्तरको योगदानलाई स्पष्ट पारेको छ ।
एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पु¥याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरु र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।
एनसेल एनएसएल सिजन ३ दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुनेछ । विभिन्न सात क्लबका उत्कृष्ट खेलाडीहरूलाई एकै मञ्चमा ल्याउने यो एक ठूलो फुटबल प्रतियोगिता हो । प्रत्येक सिजनले नेपाली फुटबललाई थप उचाइमा पु¥याउँदै यस खेलप्रति झनै गहिरो सम्बन्ध निर्माण गर्न यस प्रतियोगिताले योगदान पु¥याउँदै आईरहेको छ ।