विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी शो कन्ज्युमर इलेक्ट्रोनिक्स शो (CES) 2026 अमेरिका, लस भेगासमा उद्घाटन भइसकेको छ। यो शो ९ जनवरीसम्म चल्नेछ।
उद्घाटनको पहिलो दिनमै विश्वभरिका ठूला र साना कम्पनीहरूले आफ्ना नयाँ र अनौठा ग्याजेटहरूसहित दर्शकको ध्यान खिचेका छन्। ल्यापटप, स्मार्टवाच, फ्रिजदेखि स्मार्ट लाइटसम्म, विभिन्न श्रेणीका उपकरण यहाँ प्रदर्शन गरिएको छ।
विथिंग्सको ‘बडी स्क्यान २’
फ्रान्सस्थित स्वास्थ्य टेक कम्पनी विथिंग्स ले आफ्नो क्रान्तिकारी बडी स्क्यान २ स्मार्ट स्केल प्रस्तुत गरेको छ। कम्पनीका अनुसार यो विश्वको पहिलो घरेलु स्केल हो जसले हाई ब्लड प्रेशर र मुटुको गम्भीर अवस्थाहरू पहिल्याउन सक्छ।
विशेष कुरा के छ भने, यो स्केलले ह्यान्डसेट र फ्लोर स्केलको संयोजनमार्फत ९० सेकेन्डमै ६० भन्दा बढी बायोमार्कर ट्र्याक गर्छ। यसले बस्ने समय, तनाव, खराब निद्रा र खानपानको प्रभावसमेत मापन गर्छ। साथै, बडी स्क्यान २ ले हेल्थ ट्राजेक्टोरी स्कोर पनि दिन्छ, जसले दीर्घकालीन स्वास्थ्य अवस्थाबारे जानकारी दिन्छ। यो स्केल अन्य हेल्थ एप्ससँग कनेक्ट हुन्छ र १५ महिनासम्मको ब्याट्री लाइफ छ।
गोभीको ‘सीलिङ लाइट अल्ट्रा’
लाइटिङ ब्रान्ड गोभी ले आफ्नो नयाँ सीलिङ लाइट अल्ट्रा प्रस्तुत गरेको छ। ५,००० लुमेनको ब्राइटनेस र २० भन्दा बढी कलर प्रिसेटहरूसहित, यसले कोठाको लाइटिङ आफ्नो मूड अनुसार सजिलै परिवर्तन गर्न सकिन्छ।
सियाटल अल्ट्रासोनिक्सको अनौठो चक्कु
किचन प्रेमीहरूका लागि सियाटल अल्ट्रासोनिक्स ले अल्ट्रासोनिक्स सी२०० चक्कु प्रदर्शन गरेको छ। यसले भाइब्रेटिङ क्रिस्टल टेक्नोलोजी प्रयोग गरी फलफूल र तरकारी काट्दा बिल्कुलै ताकत नलाग्ने गरी काट्छ।
सामसुङको ‘ग्यालेक्सी जेड ट्राइफोल्ड’
सामसुङको ग्यालेक्सी जेड ट्राइफोल्ड पहिले नै चर्चा बटुलिसकेको थियो। यसको विशेषता दुईवटा हिन्ज, जसले उपकरणलाई तीन तहमा मोड्न अनुमति दिन्छ। पूर्ण रूपमा खोल्दा, यो १० इन्चको ट्याब्लेट जस्तो हुन्छ र पकेटमा सजिलै राख्न सकिन्छ।
एआई घरेलु रोबोट
सीईएस २०२६ मा एआई सक्षम घरेलु रोबोटहरू पनि देखिएका छन्। स्विचबट ओनेरो एच १ नामक रोबोटले लुगा फोल्ड गर्ने, डिशवाशर भर्ने र फ्रिजबाट पेय लिएर आउन जस्ता काम गर्न सक्छ। यसलाई नयाँ कामहरू सिकाउन सकिन्छ, तर यसको पूर्ण क्षमता कति व्यापक छ भन्ने अझै स्पष्ट छैन।
आईसीटी समाचार