कीवर्डहरू -

एआईको विस्तारसँगै बाल अनलाइन सुरक्षामा चुनौती बढ्दो

एआईको विस्तारसँगै बाल अनलाइन सुरक्षामा चुनौती बढ्दो

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै बालबालिका तथा युवा वर्गको अनलाइन सुरक्षामा चुनौती थपिँदै गएको सरोकारवालाहरूले औंल्याएका छन्। यही सन्देशका साथ आज २०८२ माघ २७ गते (१० फेब्रुअरी २०२६) विश्वभर ‘स्मार्ट प्रविधि, सुरक्षित छनोटहरू – एआईको सुरक्षित र जिम्मेवार प्रयोगको खोज’ भन्ने मूल नारामा सुरक्षित इन्टरनेट दिवस मनाइँदै छ।

सुरक्षित इन्टरनेट दिवस हरेक वर्ष फेब्रुअरी महिनामा मनाइने अन्तर्राष्ट्रिय अभियान हो, जसले बालबालिका तथा युवालाई डिजिटल प्रविधिको सुरक्षित, जिम्मेवार र सकारात्मक प्रयोगतर्फ प्रेरित गर्दै अनलाइन सुरक्षाबारे व्यापक संवाद अघि बढाउने उद्देश्य राख्दछ। यस अवसरमा युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, कानुन कार्यान्वयन निकाय, निजी क्षेत्र र नीतिनिर्माताबीच सुरक्षित इन्टरनेट निर्माणका लागि सहकार्यको आवश्यकता औंल्याइन्छ।

नेपालमा बाल अनलाइन सुरक्षा क्षेत्रमा कार्यरत संस्था चाइल्डसेफनेटले सुरक्षित इन्टरनेट दिवसको राष्ट्रिय सचिवालयको भूमिका निर्वाह गर्दै आएको छ। चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीका अनुसार एआई प्रविधि बालबालिकाको दैनिकीको हिस्सा बन्दै जाँदा सुरक्षालाई प्राथमिकतामा राख्नु अनिवार्य भइसकेको छ।

“एआईले बालबालिकालाई सशक्त बनाउनुपर्छ, जोखिममा पार्न होइन,” उनले भने, “यस वर्षको एआई–केन्द्रित सन्देशले सरकार, प्रविधि कम्पनी, शिक्षक र परिवारलाई बालबालिकाको अधिकार, संरक्षण र समग्र कल्याणलाई प्रविधिको डिजाइन र निर्णय प्रक्रियाको केन्द्रमा राख्न आह्वान गर्दछ।”

विशेषज्ञहरूका अनुसार बालबालिका तथा युवा वर्ग हाल अनलाइन यौन दुर्व्यवहार तथा शोषण, साइबर बुलिङ, ग्रूमिङ, फिसिङ तथा एआईको दुरुपयोगबाट उत्पन्न जोखिमको सामना गरिरहेका छन्।

यी चुनौतीको सामना गर्न सुरक्षित प्रविधि विकास, डिजिटल साक्षरता शिक्षा तथा सहयोग प्रणालीमा दीर्घकालीन लगानी आवश्यक रहेको उनीहरूको भनाइ छ। साथै, बालबालिकाले प्रयोग गर्ने डिजिटल प्लेटफर्मको विकास प्रक्रियामा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ।

एआईद्वारा सिर्जित सामग्रीसँग सम्बन्धित अनलाइन बाल यौन शोषणका उजुरीहरू पछिल्लो समय तीव्र रूपमा बढिरहेको तथ्यांकले देखाउँछ। अमेरिकास्थित नेशनल सेन्टर फर मिसिङ एन्ड एक्स्प्लोइटेड चिल्ड्रेन (NCMEC) का अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको अवधिमा एआई–सम्बन्धित सामग्रीका ४ लाख ४० हजारभन्दा बढी उजुरी साइबरटिपलाइनमा दर्ता भएका छन्। यो संख्या सन् २०२४ को सोही अवधिमा दर्ता भएका ६ हजार ८३५ उजुरीको तुलनामा अत्यन्तै उच्च हो।

यसले एआई उपकरणहरूको दुरुपयोग तीव्र गतिमा बढिरहेको र प्रविधि नीति तथा सुरक्षात्मक उपायभन्दा डिजिटल वातावरण छिटो परिवर्तन भइरहेको संकेत गर्ने सरोकारवालाहरूको भनाइ छ। उनीहरू बालबालिकाको सुरक्षा सुनिश्चित गर्न ‘सेफ्टी–बाइ–डिजाइन’ दृष्टिकोण, कडा नियमन र समन्वित कार्य तत्काल आवश्यक रहेको बताउँछन्।

सुरक्षित इन्टरनेट दिवस आज मनाइए पनि, अनलाइन सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू वर्षभर सञ्चालन गरिने चाइल्डसेफनेटले जनाएको छ। संस्थाका अनुसार देशका विभिन्न भागमा अभिभावक, शिक्षक तथा युवालाई लक्षित गरी डिजिटल सुरक्षा सचेतना कार्यक्रमहरू आयोजना गरिनेछन्।