कीवर्डहरू -

दराज नेपालको नेतृत्वमा फेरबदल, एमडी आँचल कुँवरको बिदाइ

दराज नेपालको नेतृत्वमा फेरबदल, एमडी आँचल कुँवरको बिदाइ

काठमाडौं । दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनीबाट बाहिरिने घोषणा गरेकी छन् । कम्पनीका अनुसार उनी आगामी असार १७ गतेदेखि आफ्नो जिम्मेवारीबाट अलग हुनेछिन् ।

साढे चार वर्षभन्दा बढी समय दराज नेपालको नेतृत्व सम्हालेकी कुँवरले कम्पनीलाई उल्लेखनीय वृद्धि र रूपान्तरणको चरणसम्म पुर्‍याएको कम्पनीले जनाएको छ । उनको कार्यकालमा दराज नेपालको व्यवसाय दोब्बरभन्दा बढी विस्तार भएको थियो ।

नेतृत्व हस्तान्तरणलाई सहज र प्रभावकारी बनाउन कुँवरले आगामी पुस १६ गतेसम्म कम्पनीमा सल्लाहकारको भूमिकामा रहेर सहयोग गर्ने जनाइएको छ । कम्पनीले हाल दराज बंगलादेशका प्रबन्ध निर्देशक तथा प्रमुख व्यावसायिक अधिकृत बेन यीलाई दराज नेपालको कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको छ ।

सन् २०१५ देखि अलिबाबा समूहसँग आबद्ध रहेका उनले डिजिटल बजार विस्तार, सीमापार व्यापार, व्यवसाय विकास तथा प्लेटफर्म सञ्चालनका क्षेत्रमा नेतृत्वदायी अनुभव हासिल गरेकी छन् ।

दराज नेपालले पछिल्ला वर्षहरूमा आफ्नो सेवा र पहुँच उल्लेखनीय रूपमा विस्तार गरेको जनाएको छ । हाल कम्पनीका ग्राहक संख्या ३० लाख नाघेको छ भने २४ हजारभन्दा बढी विक्रेता यसको सञ्जालमा आबद्ध छन् । तीमध्ये करिब ८५ प्रतिशत साना तथा मझौला उद्यम रहेका छन् ।

कम्पनीको सेवा देशभरका १४० भन्दा बढी स्थानमा विस्तार भइसकेको छ । यसैबीच, कम्पनीको व्यावसायिक सञ्चालनको नेतृत्व गर्न रतिश लुइँटेललाई प्रमुख व्यावसायिक अधिकृत नियुक्त गरिएको छ ।