कीवर्डहरू -

स्क्रिनसटले बदल्दै एआईको काम गर्ने तरिका, प्रयोगकर्ताको डाटा कत्तिको सुरक्षित ?

स्क्रिनसटले बदल्दै एआईको काम गर्ने तरिका, प्रयोगकर्ताको डाटा कत्तिको सुरक्षित ?

काठमाडौं । तपाईंको स्मार्टफोनमा जस्तै ल्यापटप वा डेस्कटपमा पनि धेरै स्क्रिनसटहरू सुरक्षित भएका हुन्छन् । सामाजिक सञ्जालका पोस्ट, मनपर्ने परिकारका विधि, किनमेल गर्न चाहेका लुगा जुत्ता वा महत्त्वपूर्ण जानकारीका स्क्रिनसट प्राय: सबैले खिच्ने गर्छन् । तस्बिर खिच्ने बेला ती उपयोगी लागेपनि केही समयपछि धेरैजसो प्रयोगकर्ताले तिनलाई बिर्सिन्छन् ।

तर तपाईंले बिर्सिसकेका यिनै स्क्रिनसटहरू अहिले कृत्रिम बौद्धिकता (एआई) का लागि महत्त्वपूर्ण स्रोत बन्दै गएका छन् । एआई मोडेलहरूले स्क्रिनसटलाई सामान्य तस्बिरका रूपमा मात्र नभई त्यसभित्र रहेका पाठ, बटन, मेनु, मूल्य, मिति, स्थान र अन्य जानकारी बुझ्न सकिने डिजिटल सामग्रीका रूपमा विश्लेषण गर्न सक्छन् ।

विश्वका प्रमुख एआई कम्पनीहरूले पनि स्क्रिन बुझ्ने प्रविधिमा तीव्र रूपमा काम गरिरहेका छन् । ओपनएआईको Computer-Using Agent ले सफ्टवेयर सञ्चालन गर्न स्क्रिनसटको प्रयोग गर्छ । त्यस्तै, एन्थ्रोपिकको Computer Use र गुगलको Screen AI ले कम्प्युटर स्क्रिन तथा प्रयोगकर्ता इन्टरफेस (UI) बुझेर त्यसअनुसार काम गर्न सक्छन् ।

यता माइक्रोसफ्टको Recall फिचरले निश्चित अन्तरालमा कम्प्युटरको स्क्रिनसट सुरक्षित गर्छ भने वनप्लस र ओप्पोको Mind Space सुविधाले स्क्रिनसटलाई एआईमार्फत खोजीयोग्य डिजिटल मेमोरीमा रूपान्तरण गर्छ ।

यसले एआईको विकास केवल पाठ वा तस्बिर विश्लेषणमा सीमित नरहेको देखाउँछ । अहिलेका मल्टिमोडल एआई मोडेलहरूले मानिसले जस्तै सम्पूर्ण कम्प्युटर स्क्रिन हेरेर त्यसभित्र रहेका इन्टरफेस, बटन, तालिका, मिति, मूल्य, स्थान र अन्य विवरण पहिचान गर्न सक्ने भएका छन् ।

अहिलेसम्म अधिकांश सफ्टवेयरबीचको सञ्चार एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (API) मार्फत हुने गरेको थियो । तर धेरै पुराना (Legacy) प्रणाली, डेस्कटप सफ्टवेयर, सरकारी पोर्टल तथा संस्थागत प्रणालीमा आधुनिक एपीआई उपलब्ध छैन । यही सीमितता हटाउन एआई कम्पनीहरूले आफ्ना मोडेललाई प्रत्यक्ष स्क्रिन पढ्न र त्यसका आधारमा आवश्यक कार्य गर्न सक्ने गरी प्रशिक्षण दिइरहेका छन् ।

यद्यपि, यो प्रविधिसँगै गोपनीयताको जोखिम पनि बढ्दै गएको विज्ञहरू बताउँछन् । कम्प्युटर वा मोबाइलको स्क्रिनमा बैंक खाताको विवरण, मेडिकल रेकर्ड, निजी च्याट, इमेल, कार्यालयका गोप्य कागजात, पासवर्ड तथा अन्य संवेदनशील जानकारी देखिन सक्छ । एआईले यस्ता विवरण बुझ्न सक्ने भएपछि व्यक्तिगत सूचना दुरुपयोग हुने सम्भावनाबारे चिन्ता व्यक्त गरिएको छ ।

प्रविधि विज्ञहरूका अनुसार स्क्रिन बुझ्ने एआईको क्षमता जति परिष्कृत हुँदै जान्छ, प्रयोगकर्ताको गोपनीयता र डाटा सुरक्षाका चुनौती पनि त्यति नै बढ्नेछन् । त्यसैले एआईमा आधारित यस्ता सुविधा प्रयोग गर्दा प्रयोगकर्ताले आफ्नो गोपनीयता, अनुमति (Permission) र डाटा सुरक्षासम्बन्धी सेटिङमा विशेष ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ ।