भर्खरका केही समययता ओपनएआईको च्याटबोट च्याटजीपीटी विश्वभरका प्रयोगकर्तामाझ अत्यन्तै लोकप्रिय बन्दै गएको छ। यही क्रमलाई निरन्तरता दिँदै कम्पनीले अब च्याटजीपीटीका लागि ‘च्याटजीपीटी हेल्थ’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ।
च्याटजीपीटी हेल्थ वास्तवमा प्लेटफर्मभित्रै रहेको एउटा डेडिकेटेड हेल्थ स्पेस हो, जुन विशेषगरी स्वास्थ्यसँग सम्बन्धित कुराकानीका लागि डिजाइन गरिएको छ। यो फिचर स्वास्थ्य परीक्षण (टेस्ट) रिपोर्टहरू बुझ्न, डाक्टरसँगको अपोइन्टमेन्टको तयारी गर्न, डाइट तथा वर्कआउटसम्बन्धी जानकारी लिन चाहने प्रयोगकर्तालाई लक्षित गरिएको छ।
यस स्पेसमार्फत प्रयोगकर्ताले हेल्थ इन्स्योरेन्ससम्बन्धी प्रश्नहरू पनि एउटै ठाउँमा सोध्न सक्नेछन्। च्याटजीपीटी हेल्थमा भएका सबै स्वास्थ्यसम्बन्धी च्याटहरूलाई नियमित च्याट हिस्ट्रीबाट अलग राखिने भएकाले संवेदनशील डेटा चुहिनुको जोखिम कम हुने कम्पनीको दाबी छ।
ओपनएआईका अनुसार, प्रयोगकर्ताले आफ्ना इलेक्ट्रोनिक मेडिकल रेकर्ड तथा एपल हेल्थ, माइफिटनेसपल जस्ता थर्ड–पार्टी वेलनेस एप्सलाई च्याटजीपीटी हेल्थसँग जोड्न सक्नेछन्। यसरी जोडिएको हेल्थ डेटाको आधारमा च्याटजीपीटीले ल्याब रिपोर्टहरू सरल भाषामा बुझाउन र क्लिनिकल अपोइन्टमेन्टको तयारी गर्न सहयोग गर्नेछ।
यसका अतिरिक्त, च्याटजीपीटी हेल्थले एक्टिभिटी र स्लीप प्याटर्न ट्र्याकिङ, डाइट तथा एक्सरसाइजबारे छलफल, साथै विभिन्न हेल्थ इन्स्योरेन्स विकल्पहरूको तुलना गर्ने सुविधा पनि उपलब्ध गराउनेछ।
कम्पनीले हाल यो प्रणालीलाई पाइलट टेस्ट रनमा राखेको र आउने महिनाहरूमा ठूलो स्तरमा रोलआउट गर्ने तयारी भइरहेको जनाएको छ। मल्टि–लेयर सेक्युरिटीसहितका नयाँ एआई क्षमताहरू पनि यस फिचरमा समावेश गरिएको छ।
आईसीटी समाचार