च्याटजीपीटीको भ्वाइस मोड अब झन् सहज र प्रयोगमैत्री बन्दै गएको छ। ओपनएआईले मंगलबार घोषणा गर्दै आफ्नो लोकप्रिय एआई च्याटबोटको प्रयोगकर्ता इन्टरफेस अद्यावधिक गरेको बताएको छ, जसअनुसार अब प्रयोगकर्ताले छुट्टै मोडमा स्विच नगरीकनै च्याटभित्रै च्याटजीपीटी भ्वाइस प्रयोग गर्न सक्नेछन्।
यस परिवर्तनसँगै अब तपाईंले च्याटजीपीटीसँग आवाजमार्फत कुराकानी गर्दा यसको प्रतिक्रियाहरू–जस्तै साझा गरिएका छविहरू वा दृश्य सामग्री–च्याटमै देखाउँदै सुन्न सकिनेछ।
पहिले, भ्वाइस मोड प्रयोग गर्दा निलो घेरो देखिने छुट्टै स्क्रिनमा लैजाने गरिन्थ्यो, जहाँ म्यूट बटन, लाइभ भिडियो रेकर्ड गर्ने विकल्प र पुनः टेक्स्ट मोडमा फर्किन ‘X’ बटन उपलब्ध थियो।
अघिल्लो प्रणालीमा च्याटजीपीटीले भनेको आवाजमा मात्र सुन्न सकिन्थ्यो, तर त्यसको टेक्स्ट हेर्न चाहिँ छुट्टै मोड छुट्याएर बाहिरिनुपर्थ्यो। कुनै प्रतिक्रिया छुटेमा फेरि टेक्स्ट मोडमा फर्किनुपर्ने भएकाले यो झन्झटिलो हुनेगर्दथ्यो।
अब भने, तपाईंले बोलिरहेको क्रममा च्याटजीपीटीका उत्तरहरू स्क्रिनमै देखिनेछन्। साथै, कुराकानीका पहिलाका सन्देशहरू, छविहरू, नक्सा वा अन्य भिजुअल सामग्री वास्तविक समयमै हेर्न सकिनेछ। यसले आवाज र टेक्स्टबीच स्वाभाविक रूपमा आवतजावत गर्न सहज बनाउने ओपनएआईको दाबी छ। यद्यपि, भ्वाइस संवाद सकिएपछि फेरि टेक्स्टमा फर्किन ‘एण्ड’ थिच्नैपर्नेछ।
अद्यावधिक गरिएको यो भ्वाइस मोड अहिलेबाटै वेब र मोबाइल दुवै प्लेटफर्मका सबै प्रयोगकर्तामा डिफल्ट रूपमा रोलआउट हुँदैछ।
तर, पुरानै छुट्टै भ्वाइस मोड मन पराउने प्रयोगकर्ताका लागि विकल्प हटाइएको छैन। उनीहरूले ‘सेटिङ’ भित्रको ‘भ्वाइस मोड’ मा गएर ‘सेपरेट मोड’ सक्रिय गरी पहिलेको जस्तै अनुभव कायम राख्न सक्छन्।
आईसीटी समाचार