नेपाल इन्टरनेट फाउण्डेशनको अगुवाइ, इन्टरनेट सोसाइटीको सहयोग r स्थानीय सरोकारवालाहरूसँगको सहकार्यमा चिपाङ्ग समुदाय नेटवर्क हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। रक्सिराङ्ग गाउँपालिका वडा नं. ५ (चैनपुर) र वडा नं. ६ (सिलिङ्गे) मा आयोजना गरिएको कार्यक्रममा समुदायलाई औपचारिक रूपमा नेटवर्क हस्तान्तरण गरिएको हो ।
यसले स्थानीय स्वामित्वको सुनिश्चितता गर्दै डिजिटल सशक्तिकरणलाई प्रवर्द्धन गर्ने बताइएको छ । समुदायलाई नेटवर्क गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष बनस्तम थिङलाई अध्यक्ष विक्रम श्रेष्ठद्वारा चेपाङ सामुदायिक सञ्जाल हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष हरि बहादुर प्रजा, वडा नं. ६ का अध्यक्ष आकल बहादुर मुक्तान, राष्ट्रिय माध्यमिक विधालय‚ सिलिगें‚ काँकडा र प्रजा जागृति माध्यमिक विधालय‚ चैनपुर‚ मकवानपुरका प्रधानाध्यापकहरू, स्थानीय नेताहरू तथा समुदायका अन्य प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लले पहिलो पटक समुदाय प्रत्यक्ष रूपमा इन्टरनेट पहुँचमा जोडिएको छ र शिक्षा, स्वास्थ्य तथा जीविकोपार्जनका नयाँ सम्भावनाहरू खोल्ने बताए ।
नेपाल इन्टरनेट फाउण्डेशन तथा साझेदार संस्थाहरूको सहकार्यमा स्थापना गरिएको चिपाङ्ग समुदाय नेटवर्कले दुर्गम क्षेत्रहरूलाई भरपर्दो र किफायती इन्टरनेट पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ ।
यस चेपाङ सामुदायिक नेटवर्क स्थापना गर्न ३० किलोमिटर फाइबर केबल लेआउट गर्दै विद्यालयहरू, स्थानीय व्यवसायहरू, र घरपरिवारहरूलाई डिजिटल कनेक्टिभिटीको माध्यमबाट सामाजिक तथा आर्थिक वृद्धि गर्न सहयोग गर्नेछ। साथै अतिरिक्त 'एक अभियान' टोलीले सौगात आर्ट नेपालसँगको सहकार्यमा दुवै विद्यालयमा भित्ता कला र प्यान्टिङको कार्यक्रम पनि सम्पन्न गरियो ।
भविष्यमा, नेपाल इन्टरनेट फाउण्डेशनले प्राविधिक प्रशिक्षण, दीगो व्यवस्थापन योजना, र डिजिटल साक्षरता कार्यक्रम मार्फत समुदायलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस परियोजनाले नेपालमा समावेशी र समुदाय-आधारित इन्टरनेट पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ, जसले सबै नागरिकको डिजिटल अधिकार सुनिश्चित गर्ने लक्ष्यलाई बल पुर्याउने छ।