कीवर्डहरू -

मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम दिदै चाईल्डसेफनेट

मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम दिदै चाईल्डसेफनेट

अनलाईन बाल सुरक्षाको लागि कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले मलेसियाली संस्था टेक्निज्मसंगको सहकार्यमा मलेसियामा अनलाईन बाल सुरक्षा कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत  मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम संचालन गरिने छ ।

चाईल्डसेफनेटद्वारा प्रशिक्षित स्थानीय प्रशिक्षकहरुले चाईल्डसेफनेटका सामग्री प्रयोग गरि मलेसियामा देशव्यापी साइबर सुरक्षा तालिम संचालन गरिने यस कार्यक्रमबाट ८० हजारभन्दा बढी प्राथमिक तथा माध्यमिक तहका बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित हुने छन् । उनीहरुले सुरक्षित रूपमा ईन्टरनेट प्रयोग गर्न र अनलाईन यौन शोषणबाट सुरक्षित रहन सिक्ने छन् ।
 ​​​​​​

चाईल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीका अनुसार संस्थाले नेपालका चालिसभन्दा बढी जिल्लामा साईबर सुरक्षाबारे तालिम संचालन गरिसकेको छ र यस वर्ष देखिँ नेपाल बाहिर पनि कार्यक्रम सुरु गरेको छ ।
 
चाइल्डसेफनेटले मलेसियाको साईबरजाया सहरमा तीनदिने प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिसकेको छ, जसले प्रशिक्षकहरूलाई प्रभावकारी रुपमा साइबर सुरक्षाबारे तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक ज्ञान र शीप प्रदान गरेको छ ।
 
यसका साथै, दुबै संस्थाले मलेसियाका बालबालिकाहरूको आवश्यकताअनुसार विशेष साइबर सुरक्षा सचेतना सामग्रीहरू संयुक्त रूपमा विकास गरेका छन् । यसै क्रममा चाईल्डसेफनेटले बालबालिकाको अनलाइन सुरक्षासम्बन्धी एक पुस्तक तयार पारेको छ ।

मले र तमिल भाषामा उपलब्ध हुने यस पुस्तक प्रथम चरणमा ८० हजार प्रति प्रकाशन हुने र मलेसियाभरि वितरण गरिनेछ, जसले बालबालिकाहरू, अभिभावकहरू, र शिक्षकहरूलाई सुरक्षित रूपमा डिजिटल प्रविधि प्रयोग गर्न मद्दत गर्नेछ।
 
टेक्निज्मका प्रबन्ध निर्देशक डा. कविथाले चाइल्डसेफनेटसँगको सहकार्यले बालबालिकालाई अनलाइन सुरक्षा सम्बन्धी ज्ञान र सीप प्रदान गर्ने बताए । यो साझेदारी एक महत्वपूर्ण कोसेढुंगा भएको बताउँदै उनले मलेसियाबाट अन्य एशियाली देशहरूमा विस्तारको प्रयास गर्ने जानकारी दिए । 

यस्तै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले चाइल्डसेफनेट र टेक्निज्मबीचको सहकार्यले मलेसियाका बालबालिकालाई प्रविधिमार्फत गरिने अनलाइन हिंसा, जस्तै अनलाइन यौन दुर्व्यवहार, घृणास्पद सन्देश, गलत र भ्रामक सूचना र वयस्क  सामग्रीको जोखिमबाट जोगाउन मद्दत गर्नेछ बताए । 

प्रविधि र स्रोतहरूको संयोजन गर्दै, टेक्निज्म र चाइल्डसेफनेटले साइबर सुरक्षा शिक्षामा नयाँ मानक स्थापित गरिरहेका छन्, जसले डिजिटल विश्वका चुनौतीहरूको सामना गर्न बालबालिकालाई तयार पार्नेछ । यो पहल दुबै संस्थाको बाल संरक्षण, शिक्षा, र डिजिटल साक्षरताप्रति प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने बताइएको छ । 

बालबालिकाहरूलाई साइबर दुर्व्यवहार, अनलाइन दुर्व्यवहारकर्ता (predators), डिजिटल ठगीजस्ता साइबर खतराहरू चिन्न र तिनको सामना गर्न सक्ने क्षमता विकास गराउने, बालबालिकामा आलोचनात्मक सोच कौशल विकसित गरी अनलाइन सुरक्षाको प्रवर्द्धन गर्ने, बालबालिकालाई डिजिटल यात्रा मार्गदर्शन गर्नका लागि आवश्यक स्रोत सामग्री र तालिम प्रदान गर्ने र बालबालिकामा जिम्मेवार रुपमा इन्टरनेट प्रयोग गर्ने संस्कार विकास गर्ने सहकार्यको उद्देश्य रहेको छ ।