कीवर्डहरू -

अनलाइन अन्तरङ्ग सम्बन्धबाट जन्मिने हिंसाको जोखिममा किशोरकिशोरी र युवाहरु

अनलाइन अन्तरङ्ग सम्बन्धबाट जन्मिने हिंसाको जोखिममा किशोरकिशोरी र युवाहरु

अनलाइनमा बालबालिका र युवालाई सुरक्षित राख्न कार्यरत संस्था चाइल्डसेफनेटले ‘रोमान्सदेखि जोखिमसम्म : किशोर किशोरी र युवा व्यक्तिहरूमाथि अनलाइन अन्तरंग सम्बन्ध हिंसा’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । 

Sexual Violence Research Initiative सँगको सहकार्यमा सम्पन्न गरिएको यस अध्ययन एसिया र प्रशान्त क्षेत्रमा सम्भवतः पहिलो भएको संस्थाले बताएको छ । यस अध्ययनमा नेपालमा बढ्दो अनलाइन अन्तरंग सम्बन्ध हिंसा, Intimate Partner Violence (IPV) लाई विस्तृत रूपमा अुसन्धान गरिएको छ । अध्ययनले यस्ता हिंसाको प्रवृत्ति, स्वरूप, र प्रविधिको दुरुपयोगद्वारा गरिएको आईपीभीको प्रभाव अन्वेषण गर्दै यस विषयबारे महत्वपूर्ण जानकारी प्रदान गरेको छ ।

अध्ययनबारे जानकारी दिँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले डिजिटल प्रविधिको असुरक्षित प्रयोगले अन्तरंग साथीबीचको हिंसालाई बढाएको जानकारी दिए ।
कार्यक्रममा चाइल्डसेफनेटकी अनुसन्धान अधिकृत तुलसा खड्काले अध्ययनका मुख्य निष्कर्षहरू प्रस्तुत गर्दै किशोर किशोरी र युवा व्यक्तिहरूमाथि अनलाइन अन्तरंग सम्बन्धबाट हिंसा भइरहेको बताएकी छन् ।

कार्यक्रममा एसभीआरआईकी कार्यकारी निर्देशक एलिजाबेथ डार्टनलले यो अध्ययनले अन्तरंग सम्बन्धको परिभाषालाई समान–लैंगिक सम्बन्ध, यौनिक सम्बन्ध, र साइबर–डेटिङलाई समेटको जानकारी दिइन् ।

नेपालको सन्दर्भमा आईपीभीको बारेमा चर्चा गर्दै रघुवंशीले थपे, “नेपाली कानूनले अविवाहित जोडीहरूको अन्तरंग सम्बन्धलाई मान्यता दिँदैन । त्यसकारण, सरकारले अविवाहित जोडीहरूमा हुने अनलाइन अन्तरंग साझेदार हिंसालाई सम्बोधन गर्न आवश्यक नीति र कानुन बनाएको पाइएको छैन ।”

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय बाल अधिकार परिषद्का उपाध्यक्ष बम बहादुर बानियाँले परिषद् चाइल्डसेफनेट जस्ता संस्थाहरूको सहकार्यमा बालबालिकालाई अनलाइनमा सुरक्षित राख्न कटिबद्ध रहेको बताए ।

अध्ययनले नेपालका सातै प्रदेशका दश जिल्लाबाट १६ देखि २४ वर्षका ४,५०१ किशोर किशोरी र युवा व्यक्तिहरूबाट जानकारी सङ्कलन गरेको थियो । यसले डिजिटल प्लेटफर्मको दुरुपयोगबाट भएका आईपीभीसँग सम्बन्धित जोखिमहरू, सुरक्षात्मक अभ्यासहरू, र प्रणालीगत कमजोरीहरू पत्ता लगाउने लक्ष्य राखेको थियो ।

अध्ययनले पीडितलाई उल्टै दोष दिने प्रवृत्ति, पीडित केन्द्रित दृष्टिकोण र सहायताको अभाव, र अपर्याप्त तथा फितलो कानुनी संरचनालगायतका प्रणालीगत कमजोरीहरू उजागर गरेको छ । यसले बहु–क्षेत्रीय जिम्मेवार निकायहरू र सरोकारवालाहरूलाई किशोर किशोरी र युवाहरूलाई अनलाइन आईपीभीबाट सुरक्षित राख्नका लागि आआफ्ना भूमिका निर्वाह गर्न आग्रह गर्दै सिफारिसहरू प्रस्तुत गरेको छ । 

यसले शिक्षा, चेतना अभियानहरू, नीतिगत सुधारहरू, र बलियो कानुनी संरचनाहरूको साथै अभिभावक र विद्यालयहरूले अनलाइन सुरक्षाको लागि प्रभावकारी काम गर्नुपर्ने सिफारिस गरेको छ ।

यस अध्ययनले प्रविधिमार्फत हुने IPV बारे थप अनुसन्धानको आधार निर्माण गरेको छ । साथै, चाइल्डसेफनेटले नीतिनिर्माताहरू, सेवा प्रदायकहरू, र समुदायहरूका लागि प्रभावकारी कार्यान्वयनका सुझावहरु प्रदान गर्दै जोखिमका कारकहरू पहिचान गरेर बालबालिका र युवाका लागि सुरक्षित डिजिटल वातावरण सिर्जना गर्न यस अध्ययनले सघाउने अपेक्षा राखेको छ । अध्ययन प्रतिवेदन सार्वजनिक रूपमा www.childsafenet.org मा उपलब्ध छ।

अध्ययनका मुख्य निष्कर्ष

सम्बन्धको स्थितिः ४०.५% सहभागीहरूले हाल वा विगतमा अनलाइनको माध्यमबाट अन्तरंग सम्बन्ध भएको बताएका थिए ।

अनलाइन IPV को गम्भीरता : अन्तरंग सम्बन्धमा रहेका चारमध्ये एक व्यक्तिले आफूमाथि अनलाइन IPV भएको बताएका थिए ।

वयस्क र नाबालिगबीचका सम्बन्धहरू : ११% सहभागीहरूले वयस्क र नाबालिगबीचको सम्बन्ध रहेको जनाएका थिए ।

भौगोलिक प्रवृत्ति : सुनसरी जिल्लामा उच्चतम अनलाइन IPV रहेको पाइयो । अध्ययनमा सहभागीमध्ये सुनसरी जिल्लाका ३८% ले आफूमाथि अनलाइन IPV भएको जानकारी गराएका थिए ।

उमेर र जोखिम : किशोरकिशोरीहरु (१६–१७ वर्ष) र युवाहरु (१८–२४ वर्ष) दुवै उमेर समूहका सहभागीहरु समान रुपमा अनलाइन IPV को जोखिममा थिए । तर तुलनात्मक रुपमा युवा सहभागीहरूमा दुव्र्यवहार र हिंसाका व्यवहारलाई पहिचान गर्न र तिनबाट जोगिन सक्ने क्षमता रहेको पाइयो ।

सम्बन्धको अवधि : लामो सम्बन्धको तुलनामा ६ महिनाभन्दा कम समय सम्बन्धमा रहेकाहरू IPV को उच्च जोखिममा रहेको पाइयो ।

हिंसाको निरन्तरता : अध्ययनका ४६% सहभागीले अनलाइन र अफलाइन दुवै प्रकारका IPV को सामना गरको बताए ।

LGBTIQA+ समुदाय : यस समुदायका युवाहरु विशेष रूपमा अनलाइन डेटिङ एपहरू चलाउने गरेको कारण जोखिममा पर्ने गरेका छन् ।