चीनको साइबरस्पेस प्रशासन (सीएसी) ले देशका प्रविधि कम्पनीहरूलाई एनभिडियाको नयाँ एआई चिप RTX Pro 6000D खरिद तथा परीक्षण नगर्न निर्देशन दिएको छ ।
फाइनान्सियल टाइम्सका अनुसार, यस निर्देशनपछि बाइटडान्स, अलीबाबा जस्ता ठूला कम्पनीहरूले आफ्ना सप्लायरलाई यस सम्बन्धी सबै गतिविधि रोक्न आदेश दिएका छन् ।
अमेरिकी समाचार संस्था रायटरका अनुसार, यो प्रतिबन्ध एनभिडियाको अघिल्लो H20 चिप्समाथिको केवल ‘मार्गदर्शन’ भन्दा अझ कडा मानिएको छ । एनभिडियाका प्रमुख कार्यकारी जेन्सेन हुआङले यसमा निराशा व्यक्त गर्दै बीबीसीसँग भनेका छन्, ‘धेरै ठाउँमा हामी जान सक्दैनौँ, तर त्यो ठीकै हो । हामी अमेरिकालाई समर्थन गर्नेछौँ, जबसम्म उसले चीनसँगका भूराजनीतिक समस्या समाधान गर्दैन ।’
चिनियाँ कम्पनीहरूले यसअघि एनभिडियाको ब्ल्याकवेल आर्किटेक्चरमा आधारित हजारौँ संख्यामा चिप खरिद गर्ने योजना बनाएका थिए । तर माग अपेक्षाकृत कम भएको र केही कम्पनीहरूले अर्डर नै नगरेको खबर आएको छ । तीमध्ये कतिपयले अमेरिकी स्वीकृतिको प्रतीक्षामा रहेको एनभिडियाको शक्तिशाली B30A मोडेलको पर्खाइ गरिरहेका छन् ।
त्यस्तै, टाइम्सका अनुसार, चिनियाँ नियामकहरूले स्थानीय उत्पादन भएका एआई चिपहरू एनभिडियाका चिपसँग तुलनीय वा अझ प्रगतिशील भएको निष्कर्ष निकालेका छन् । यसका लागि हुवावे, बाइडु जस्ता कम्पनीहरूलाई आफ्ना चिप र एनभिडियाका चिपबीचको तुलना प्रतिवेदन पेश गर्न लगाइएको थियो ।
अमेरिकाले यस वर्ष अप्रिलमा एनभिडियाको H20 एआई चिप निर्यातमा रोक लगाएको थियो, चीनले यसलाई सैन्य प्रयोजनमा प्रयोग गर्न सक्ने आशङ्का अमेरिकाको थियो । पछि जुलाईमा अमेरिकी सरकारले १५ प्रतिशत बिक्री हिस्सेदारी पाउने सम्झौतासहित चिप पुनः निर्यात गर्ने अनुमति दिएको थियो । तर, चीनले उक्त चिप खरिद नगर्न चेतावनी दिएपछि उत्पादन स्थगित भएको थियो ।
यो प्रतिबन्ध केही दिनअघि मात्र अर्को चिनियाँ नियामकले एनभिडियामाथि एन्टिट्रस्ट कानुन उल्लङ्घन गरेको आरोप लगाएको सन्दर्भमा आएको हो । चीनको राज्य बजार नियमन प्रशासन (SAMR) का अनुसार, एनभिडियाले मेलेनक्स कम्पनी अधिग्रहण गर्दा तोकिएका शर्तहरू उल्लङ्घन गरेको छ । ती शर्तअनुसार कम्पनीले चीनलाई निष्पक्ष र भेदभावविहीन तरिकाले जीपीयू आपूर्ति गर्नुपर्ने प्रावधान थियो ।