कीवर्डहरू -

नेपाललाई चीनले हस्तान्तरण गर्यो एआईमा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’

नेपाललाई चीनले हस्तान्तरण गर्यो एआईमा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’

काठमाडौं । चीनले नेपालको मौसम पूर्वानुमान तथा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’को नेपाल संस्करण हस्तान्तरण गरेको छ ।

चीनको मौसम विज्ञान प्रशासन (सीएमए) का अनुसार नेपालका लागि विशेष रूपमा तयार पारिएको ‘माजु’को क्लाउडमा आधारित परीक्षण संस्करण गत अगस्ट २९ मा नेपालको मौसम विज्ञान विभागलाई उपलब्ध गराइएको हो ।

चीन–नेपाल सीमास्थित केरुङ–रसुवा नाकामा भएको घातक पहिरोपछि चीनले नेपाललाई उक्त प्रणाली उपलब्ध गराएको जनाएको छ । नेपालका लागि ‘माजु’ प्रणाली विकास गर्दा यहाँको भौगोलिक अवस्था, विपद्का प्रकृति, पूर्वाधार तथा उपलब्ध मौसमसम्बन्धी तथ्याङ्कलाई आधार बनाइएको सीएमएले जनाएको छ ।

पहिरोपछि चीनले नेपाललाई मौसम पूर्वानुमान तथा पूर्वसूचनासम्बन्धी सहयोग समेत उपलब्ध गराएको थियो । विपद् राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन उच्च रिजोल्युसन तथा द्रुत रूपमा अद्यावधिक हुने मौसम पूर्वानुमान र पूर्वसूचना सामग्री उपलब्ध गराइएको सीएमएको भनाइ छ ।

नेपालका लागि तयार गरिएको ‘माजु’को संस्करण चीनको उत्तरपश्चिमी क्षेत्र सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको राजधानी उरुम्कीमा आयोजित दोस्रो चीन–मध्य एसिया मौसम सहयोग मञ्चका क्रममा हस्तान्तरण गरिएको हो ।

‘माजु’ बहुजोखिम पहिचान, पूर्वसूचना तथा मौसमसम्बन्धी जोखिम व्यवस्थापनका लागि विकास गरिएको एआईमा आधारित प्रणाली हो । यसको नाम समुद्रकी चिनियाँ संरक्षक देवी ‘माजु’को नामबाट राखिएको हो ।

सीएमएले सन् २०२६–२०२७ का लागि मध्यएसियाली देशहरूमा पनि ‘माजु’ प्रणाली लागू गर्ने योजना सार्वजनिक गरेको छ । चीन र मध्यएसियाली मुलुकबीच मौसमसम्बन्धी सहयोग विस्तार गर्दै क्षेत्रीय विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रणाली विस्तार गर्न लागिएको जनाइएको छ ।

सीएमएका प्रमुख चेन झेन्लिनका अनुसार ‘माजु’ हाल सात देशमा प्रयोगमा छ भने ५० भन्दा बढी देशमा यसको क्लाउडमा आधारित परीक्षण भइरहेको छ । प्रणालीको अन्तर्राष्ट्रिय प्रयोग थप विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभएको छ ।