आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीव्र परिवर्तन भइरहेका बेला चीनले उपभोक्ता एआई बजारलाई नियमन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ।
चीनका साइबर रेगुलेटरहरूले शनिबार मानिसजस्तै व्यवहार गर्ने र प्रयोगकर्तासँग भावनात्मक सम्बन्ध बनाउने एआई सेवाहरूलाई लक्षित गर्दै नयाँ नियमहरूको मस्यौदा सार्वजनिक गरेका छन्।
यस कदमको मुख्य उद्देश्य तीव्र रूपमा विस्तार भइरहेको कन्ज्युमर एआई बजारमा सुरक्षा, नैतिकता र प्रयोगकर्ता संरक्षण सुनिश्चित गर्नु हो।
नयाँ नियमहरूमा के समेटिएको छ?
प्रस्तावित नियम अनुसार यो कानुन चीनभित्र सर्वसाधारणका लागि उपलब्ध सबै एआई उत्पादन र सेवाहरूमा लागू हुनेछ। विशेषगरी ती सेवाहरूमा केन्द्रित छ, जसले मान्छेको व्यक्तिगतता नक्कल गर्छन्, मान्छेजस्तै सोच्ने र संवाद गर्ने नाटक गर्छन्, तथा टेक्स्ट, अडियो, इमेज वा भिडियोमार्फत प्रयोगकर्तासँग भावनात्मक रूपमा जोडिन्छन्।
ड्राफ्टले एआई सेवा प्रदायकहरूका लागि कडा दायित्वहरू तोकेको छ। कम्पनीहरूले प्रयोगकर्ताहरू एआईको लतमा नपरोस् भन्ने कुरा सुनिश्चित गर्नुपर्नेछ। त्यसका लागि ‘अत्यधिक प्रयोग’ विरुद्ध स्पष्ट चेतावनी दिनुपर्ने र प्रयोगकर्ताको प्रयोग व्यवहार अनुगमन गर्नुपर्ने व्यवस्था गरिएको छ।
नियम अनुसार, सेवा प्रदायकहरूले प्रयोगकर्ताको मानसिक अवस्था र भावनात्मक अवस्थाको मूल्यांकन गर्नुपर्नेछ। यदि कुनै प्रयोगकर्ता अत्यधिक भावुक देखिन्छ वा एआईमा निर्भरता (लत) विकास हुँदै गएको संकेत देखिन्छ भने कम्पनीले तुरुन्त हस्तक्षेप गर्नुपर्नेछ।
यसका साथै, कम्पनीहरूले आफ्नो एआई उत्पादनको पूर्ण जीवनचक्रभरि सुरक्षा जिम्मेवारी लिनुपर्नेछ। यसमा एल्गोरिदमको समीक्षा, डाटा सुरक्षा, र प्रयोगकर्ताको व्यक्तिगत जानकारीको संरक्षण समावेश छ।
सामग्रीमा कडा ‘रेड लाइन’
चीनले सामग्रीसम्बन्धी कडा ‘रेड लाइन्स’ पनि तोकेको छ। नियमअनुसार कुनै पनि एआई सेवाले राष्ट्रिय सुरक्षा जोखिममा पार्ने, अफवाह फैलाउने, वा हिंसा तथा अश्लीलता प्रवर्द्धन गर्ने सामग्री उत्पादन गर्न पाउने छैन।
हाल यी नियमहरू सार्वजनिक राय सङ्कलन (पब्लिक कमेन्ट) का लागि जारी गरिएको हो। राय सङ्कलनपछि आवश्यक संशोधनसहित यसलाई कानुनी रूपमा लागू गरिनेछ।
आईसीटी समाचार