कीवर्डहरू -

चीप निर्यात रोक्दा पनि चीनले बनायो ओपन एआईको जस्तै शक्तिशाली मोडेल, अमेरिकालाई चुनौती

चीप निर्यात रोक्दा पनि चीनले बनायो ओपन एआईको जस्तै शक्तिशाली मोडेल, अमेरिकालाई चुनौती

चीनियाँ एआई स्टार्टअप ‘डीपसिक’ यतिबेला विश्वभर चर्चा भइरहेको छ । एआईको क्षेत्रमा वर्चस्व रहेको अमेरिकालाई चीनियाँ स्टार्टअप डीफसिकले ठूलो चुनौती दिएको छ । 

गत जनवरी २० मा डीपसिकले ‘डीपसिक आर वान’ मोडल सार्वजनिक गरेपछि अहिले विश्वभर चर्चा चुलिएको छ । विशेष गरी अमेरिकाले यसलाई चुनौतीको रूपमा हेरेको छ । 

डीपसिकको यस पूर्ण ओपन सोर्स मोडलले ओपन एआईको मोडेल जस्तै काम गर्ने दावी गरिएको छ । डीपसिकले कम लागत र उच्च-गुणस्तरका थोरै चिप्सहरू प्रयोग गरेर प्रतिस्पर्धात्मक च्याटबोट निर्माण गरेको छ । अमेरिकाले चीप निर्यातमा लगाएको प्रतिबन्धका बाबजुद सिलिकभ भ्यालीलाई टक्कर दिने गरी एआई मोडेल बनाएको प्रति अहिले विश्वभर प्रशंसा भइरहेको छ । 

उन्नत चीपहरू निर्यात नगरेर चीनको एआई प्रगतिलाई सुस्त पार्ने अमेरिकाको योजना थियो । तर त्यसले इन्नोभेसनलाई नै बढावा दिएको छ । यसले पनि चीन एआईको दौडमा पछाडि नरहेको स्पष्ट सन्देश दिइसकेको छ । ओपन सोर्समा आधारित भएकाले चीनले एआईको क्षेत्रमा आफ्नो प्रभुत्व अझै फैलाउन सक्छ । 

डिपसिकको आर वान मोडेलले ओपन एआको उत्कृष्ट रिजनिङ मोडेल जस्तै गणित, कोडिङ र कम्प्लेक्स रिजनिङ लगायतका काम गर्न सक्छ । 

उदाहरणको लागि एआईएमई २०२४ गणित बेन्चमार्कमा डिपसिक आरवानले ७९.८ प्रतिशत र ओपन एआईको जिरो वानले ७९.२ प्रतिशत अंक प्राप्त गरेको छ ।

म्याथ ५०० बेन्चमार्कमा डिपसिकले ९७.३ प्रतिशत र जिरोवाले ९६.४ प्रतिशत प्राप्त गरेको छ । कोडिङमा आरवानले ९६.३ प्रतिशत र जिरोवानले ९६.६ प्रतिशत प्राप्त गरेको छ ।  

यी बेन्चमार्कहरू अपूर्ण हुन सक्ने भएपनि डिपसिक ओपन एआईसँग तुलना गर्न लायक भइसकेको छ । डिपसिकले कम्प्युटर चिप्समा भर पर्नुको सट्टा इन्नोभेसनमार्फत यो उपलब्धि हासिल गर्न सक्षम भएको हो ।