क्लक बी बिजनेस टेक्नोलोजीले ब्लकचेन क्षेत्रमा जनशक्ति तयार गर्ने उद्देश्यसहित ब्लकचेन ट्रेनिसिप प्रोग्राम सुरू गरेको छ । युवाहरूलाई उदाउँदो रूपमा रहेको ब्लकचेन उद्योगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीप प्रदान गर्न यो कार्यक्रम डिजाइन गरिएको हो ।
यस कार्यक्रमका लागि २३९ जनाले आवेदन दिएका थिए । आवेदन दिनेबाट २० जना ट्रेनिसीपमा छनौट भएका छन् । छनौट भएकाहरूलाई अब ६ महिनासम्म सैद्धान्तिक ज्ञान र व्यावहारिक अनुभव दुवै प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
ट्रेनिसिप कार्यक्रममा ब्लकचेन प्रविधिको आधारभूत ज्ञान, स्मार्ट कन्ट्र्याक्ट विकास, विकेन्द्रीकृत एप्लिकेसन, ब्लकचेन स्केलेबिलिटी र सुरक्षा, तथा ब्लकचेनको औद्योगिक प्रयोगजस्ता समग्र विषयहरू समेटिएका छन् ।
सहभागीहरूले वास्तविक परियोजनामा काम गरेर ब्लकचेनको व्यावहारिक प्रयोगबारे महत्त्वपूर्ण अनुभव पनि प्राप्त गर्नेछन् । यो कार्यक्रमले शिक्षा मात्र होइन, नेटवर्किङ र व्यावसायिक विकासका अवसरहरू पनि प्रदान गर्नेछ । साथै प्रशिक्षार्थीहरूलाई उद्योग विशेषज्ञहरू, मेंटरशिप, र प्रविधि-आधारित समुदाय तथा सरोकारवालाहरूसँग जडान हुने मौका मिल्नेछ ।
सहभागीलाई ब्लकचेन र वेब ३.० उद्योगका लागि तयार बनाउनेछ । क्लक बी बिजनेस टेक्नोलोजीले नवप्रवर्तनलाई प्रोत्साहन गर्दै ब्लकचेन उद्योगको माग पूरा गर्न सक्षम जनशक्ति विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यस पहलले नेपालको आईटी उद्योगमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा कम्पनीको छ । जसले स्थानीय तथा वैश्विक प्रविधिगत प्रगतिमा योगदान गर्न योग्य ब्लकचेन पेशेवरहरू उत्पादन गर्नेछ ।
यस कार्यक्रममार्फत, क्लक बी बिजनेस टेक्नोलोजीले नेपाललाई ब्लकचेन नवप्रवर्तनको बढ्दो केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।