कीवर्डहरू -

शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय र एम्बिशन गुरुबीच सहकार्य

शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय र एम्बिशन गुरुबीच सहकार्य

देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई-लर्निङ प्लेटफर्म एम्बिशन गुरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

शिक्षण पेशा गरिरहेका र शिक्षक बन्न इच्छुक व्यक्तिहरूको क्षमता अभिवृद्धि साथसाथै उनीहरूको सशक्तिकरण गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण पाठ्यक्रमहरू तयार गरि कक्षा सञ्चालन गर्न एम्बिशन गुरु र काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशनले सहकार्य गर्ने भएको हो । 

यी पाठ्यक्रमहरू शैक्षिक सीपहरू वृद्धि गर्न, मूल्याङ्कन मापदण्डहरू परिष्कृत गर्न, र निरन्तर व्यावसायिक विकासको संस्कृतिलाई प्रोत्साहन दिन डिजाइन गरिएका हुन् । शिक्षकहरूलाई नवीनतम उपकरण र विधिहरूसँग परिचित गराएर शिक्षाको गुणस्तर उकास्ने लक्ष्य सहित दुई शैक्षिक संस्थाहरूबीच हस्ताक्षर भएको हो ।

यस सहकार्यको मुख्य उद्देश्य समग्र देशको शैक्षिक उन्नयन लाई केन्द्रमा राखी विद्यालयहरूको शैक्षिक र व्यावसायिक विकास सुदृढ गर्नु रहेको काठमाण्डौं विश्वविद्यालयका अशोसिएट डीन प्रकाश भट्टराईले जानकारी दिए ।

भट्टराई अगाडि भने, 'काठमाडौं विश्वविद्यालयले निरन्तर सिकाइका लागि परामर्श दिनुका साथै देशभरका विद्यालय तथा सिकाइ केन्द्रमा आधारित व्यावसायिक विकास क्रियाकलापहरू मार्फत देशभरका शिक्षकको क्षमता विकासमा सहयोग गर्नेछ ।'

यो सहकार्य अन्तर्गत काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनले आवश्यकता अनुरुप मूल्याङ्कन उपकरणहरूको विकास, शिक्षक व्यावसायिक विकास पाठ्यक्रमको डिजाइन, शिक्षणशास्त्रमा सूचना प्रविधिको सम्भावनाहरूको खोजी, व्यावसायिक शिक्षक प्रशिक्षकहरूको नियुक्ति, विभिन्न कार्यशाला सहजीकरणका लागि पाठ्यक्रम विकास, र शिक्षक तथा नेतृत्वकर्ताहरूको अभ्यासमा निरन्तर अनुगमन तथा व्यवस्थापन लगायतको काम गर्नेछ । साथै यस कार्यक्रमका लागि देशका विभिन्न स्थानबाट फरक फरक समुदायहरूको सहभागिताको पनि सुनिश्चितता गर्नेछ ।  

यस्तै एम्बिशन गुरुले भने कार्यक्रमहरूमा संलग्न सबै आर्थिक व्यवस्थापन, शिक्षकहरूलाई पाठ्यक्रम वा कार्यशालाहरूमा सहभागी गराउने, कार्यशाला र सत्रहरूको प्रभावकारी सञ्चालनका लागि आवश्यक व्यवस्था, शिक्षक र प्रशिक्षकहरूका लागि प्रगतिशील र प्रोत्साहनमूलक वातावरण सिर्जना, र कार्यक्रमको निरन्तर अनुगमन तथा मूल्याङ्कन गर्ने जिम्मेवारी लिने एम्बिशन गुरुका एकेडेमिक डाइरेक्टर प्रकाश पाण्डेले जानकारी दिए ।  यस सहकार्यले नेपालको शिक्षा क्षेत्रमा गुणात्मक सुधार आउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।