कीवर्डहरू -

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच सहकार्य : भर्सन ४.५ सार्वजनिक हुँदै

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीच सहकार्य : भर्सन ४.५ सार्वजनिक हुँदै

काठमाडौं । विश्वप्रसिद्ध मोबाइल गेम ‘पब्जी मोबाइल’ (PUBG MOBILE) ले आफ्नो आगामी भर्सन ४.५ अपडेटमार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज ‘नारुटो शिप्पुडेन’ (NARUTO SHIPPUDEN) सँग विशेष सहकार्य गर्ने घोषणा गरेको छ ।

आगामी जुलाई ९ देखि उपलब्ध हुने यस अपडेटमार्फत गेमरहरूले नारुटो शिप्पुडेनबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण र रोमाञ्चक इन-गेम अनुभव प्राप्त गर्नेछन् । यस सहकार्यसँगै गेमरहरूले पहिलोपटक पब्जी मोबाइलको प्लेटफर्ममा नारुटोको संसारलाई नयाँ र अन्तरक्रियात्मक तरिकाले अनुभव गर्न पाउनेछन् ।

नारुटो प्रोडक्सन कमिटीको प्रत्यक्ष सुपरिवेक्षणमा तयार गरिएको यस सहकार्यमा गेमरहरूले नारुटोको कथामा विशेष महत्त्व राख्ने स्थानहरू जस्तै- हिडन लिफ भिलेज, होकागे रक र द फाइनल भ्यालीको अनुभव गर्न सक्नेछन् ।

यसका साथै गेमरहरूले चर्चित निन्जुत्सु सीपहरू पनि प्रयोग गर्न पाउनेछन् । जसमा चिडोरी (Chidori), रासेङ्गन (Rasengan), स्याडो क्लोन (Shadow Clone) र फ्लाइङ राइजिन जुत्सु (Flying Raijin Jutsu) समावेश छन् । यस अपडेटमा गेमरहरूले चर्चित पात्र ‘द नाइन टेल्स’ (The Nine Tails) विरुद्ध विशेष ‘बोस फाइट’ (Boss Fight) खेल्ने अवसरसमेत प्राप्त गर्नेछन् ।

लोकप्रिय पात्रहरू र क्यारेक्टर सेट
सहकार्यअन्तर्गत गेमरहरूले नारुटोका चर्चित पात्रहरूमा आधारित विशेष क्यारेक्टर सेटहरू प्राप्त गर्न सक्नेछन् । यसमा नारुटो, सासुके, साकुरा, काकाशी, हिनाटा, सुनाडे, जिराइया, गारा र मादारा जस्ता लोकप्रिय पात्रहरू समावेश हुनेछन् । कम्पनीका अनुसार नारुटो शिप्पुडेनसँग सम्बन्धित अन्य सामग्रीहरू पनि क्रमश: सार्वजनिक गरिनेछ ।

यस सहकार्यबारे टेन्सेन्ट गेम्सअन्तर्गत पब्जी मोबाइल पब्लिसिङका हेड भिन्सेन्ट वाङले भने, “नवीन सहकार्य र उत्कृष्ट गेमिङ अनुभवमार्फत मनोरञ्जनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्न हामी प्रतिबद्ध छौं । विश्वभर नारुटोको ठूलो फ्यानबेस रहेकाले यो सहकार्य हाम्रा लागि स्वाभाविक छनोट हो । नारुटोका प्रिय पात्र र कथालाई पब्जी मोबाइलको रोमाञ्चक अनुभवसँग जोडेर हामी गेमरहरूका लागि उत्कृष्ट उपहार ल्याउँदैछौं ।”

सन् १९९९ मा सुरु भएको नारुटो विश्वकै सर्वाधिक लोकप्रिय र प्रभावशाली एनिमे तथा मांगा सिरिजमध्ये एक हो । यसले दशकौंदेखि विश्वभर करोडौं प्रशंसकहरूको मन जित्न सफल भएको छ ।

पब्जी मोबाइल र नारुटो शिप्पुडेनबीचको यस विशेष सहकार्य र नयाँ अपडेटबारे थप जानकारी छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ । गेमरहरूले एप्पलको ‘एप स्टोर’ र ‘गुगल प्ले स्टोर’बाट पब्जी मोबाइल नि:शुल्क डाउनलोड गरी खेल्न सक्नेछन् ।