कीवर्डहरू -

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य

एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य

एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गर्ने भएको छ। नयाँ प्रणालीमार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्टलाई पनि अक्वायर गर्न सक्नेछ, जसले गर्दा एनएमबीसँग आबद्ध डिजिटल व्यापारीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएका भिसा तथा मास्टरकार्डमार्फत सजिलै भुक्तानी प्राप्त गर्न सक्नेछन्।

बैंकले नेपालमा बढ्दै गएको ई–कमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो। यसमा प्रयोग हुने थ्रीडी सेक्योर प्रविधिले कार्डमार्फत हुने अनलाइन भुक्तानीलाई थप सुरक्षित बनाउने र अनधिकृत कारोबारको जोखिम न्यून गर्ने बताइएको छ। सुरक्षित तथा विश्वसनीय भुक्तानी प्रणालीले डिजिटल व्यवसाय विस्तारमा महत्वपूर्ण सहयोग पुर्‍याउने बैंकको विश्वास छ।

नयाँ गेटवेको माध्यमबाट घरेलु तथा अन्तर्राष्ट्रिय दुवै भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यापारीहरूलाई आफ्नो सेवा दायरा फराकिलो बनाउन सहज हुने बैंकले जनाएको छ। अनलाइन वा ई–कमर्समा आधारित व्यवसायले आवश्यक प्रक्रिया तथा प्राविधिक तयारी पूरा गरी बैंकसँग समन्वय गरेपछि यस गेटवेलाई आफ्नो वेबसाइट वा एपमा एकीकृत गर्न सक्नेछन्।

एनएमबी बैंकले एनसीएचएलसँगको सहकार्यमा ईसीसी, आईपीएस, आरपीएस, नेपालपे क्युआर, कनेक्ट आईपीएस, कर्पोरेट पे लगायतका विविध डिजिटल सेवा प्रदान गर्दै आएको छ। यी सेवामा अब अनलाइन पेमेन्ट गेटवे थपिएपछि डिजिटल भुक्तानी पारिस्थितिकी अझ विस्तार हुने अपेक्षा गरिएको छ। बैंकले डिजिटल वित्तीय पहुँच विस्तार तथा सुरक्षित अनलाइन कारोबार प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामध्ये एक मान्दै आएको छ।