कीवर्डहरू -

नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन

नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को संभावना अध्ययनका लागि समिति गठन गर्ने सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेकी छन् । 

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा पुनः नियुक्ति भएसँगै शर्माले नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना अध्ययन गर्न समिति गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेकी हुन् । 
उक्त समितिले नेपालमा अन्तर्राष्ट्रिय इन्टरनेट व्याण्डविथको आयात तथा वितरणको अवस्था, नेपालमा व्याण्डविथ प्लेटफर्मको संभावना र सान्दर्भिकताको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउने छ । 

पदभार ग्रहणपछि आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले एक वर्षको बीचमा सञ्चार तथा सूचना प्रविधि क्षेत्रको उत्खनन् गरेर जग बसाल्ने काम सम्पन्न भएकाले अब यस क्षेत्रको पुनःसंरचनामा ध्यान केन्द्रित गर्ने बताइन । 

यसअघि शर्माले विसं २०७९ माघ ३ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन । उनले विसं २०७२ कार्तिक १ गतेदेखि २०७३ असार २८ गतेसम्म सामान्य प्रशासन मन्त्रीको रुपमा भूमिका निर्वाह गरेकी थिइन । 

विसं २०७९ मंसिर ४ गतेको निर्वाचनबाट शर्मा दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी शर्मा समानुपातिक प्रणालीबाट विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन । 

विसं २०२६ असोज ९ गते दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनामा बुबा गिरिराज शर्मा र आमा पार्वती शर्मा पौड्यालको कोखबाट जन्मिएकी शर्माले विसं २०४२ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन ।