कीवर्डहरू -

रसुवा उद्धारमा सञ्चार चुनौती : स्याटलाइट फोन उपलब्ध गराउन मन्त्री पुनको अपिल

रसुवा उद्धारमा सञ्चार चुनौती : स्याटलाइट फोन उपलब्ध गराउन मन्त्री पुनको अपिल

काठमाडौं । रसुवामा बाढी र पहिरोले सञ्चार संरचना समेत प्रभावित हुन थालेपछि उद्धार तथा राहत टोलीबीच सम्पर्क कायम राख्न स्याटलाइट फोनको आवश्यकता देखिएको छ । यही अवस्थालाई मध्यनजर गर्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्याटलाइट फोन भएका व्यक्ति तथा संस्थालाई तत्काल सहयोग गर्न आग्रह गरेका छन् ।

बाढी तथा पहिरोका कारण दुर्गम क्षेत्रमा मोबाइल टावरले काम नगर्ने वा नियमित सञ्चार सेवा अवरुद्ध हुने अवस्था आउन सक्ने भएकाले उद्धारमा खटिएका टोली र सम्बन्धित निकायबीच समन्वयमा समस्या हुन थालेको मन्त्री पुनले बताएका छन् ।

यसै कारण उनले पर्वतारोहण, पदयात्रा तथा एक्सपिडिसनमा संलग्न कम्पनी, इन्टरनेट सेवा प्रदायक तथा अन्य संस्थासँग आफूहरूसँग उपलब्ध स्याटलाइट फोन राज्यको विपद् व्यवस्थापन कार्यमा प्रयोगका लागि उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका हुन् ।

मन्त्री पुनले सामाजिक सञ्जालमार्फत सहयोग गर्न इच्छुकलाई आफूलाई एसएमएस गरेर सम्पर्क गर्न आग्रह गरेका छन् । उनले विपद् व्यवस्थापनका लागि स्याटलाइट फोन तत्काल आवश्यक रहेको उल्लेख गरेका छन् ।

उपलब्ध गराइने स्याटलाइट फोन सरकारी प्रक्रियाअनुसार भरपाई गरेर लिइने र उद्धार तथा विपद् व्यवस्थापनको काम सम्पन्न भएपछि सम्बन्धित कम्पनी वा धनीलाई नै फिर्ता गरिने पुनले स्पष्ट पारेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, “सहयोग गर्न चाहनेहरूले मलाई सिधै ९८४१५९२३६१ मा एसएमएस गर्नुहोस् । विपद् व्यवस्थापनको लागि ती फोनहरू तुरुन्त चाहिएको छ ।”

बाढी तथा पहिरोजस्ता विपद्मा सडक, विद्युत् र मोबाइल सञ्चार संरचना अवरुद्ध हुँदा उद्धार तथा राहत कार्यमा प्रत्यक्ष असर पर्न सक्छ। यस्तो अवस्थामा स्याटलाइट फोनजस्ता वैकल्पिक सञ्चार माध्यमले प्रभावित क्षेत्र र उद्धारको समन्वय केन्द्रबीच सम्पर्क कायम राख्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।

रसुवामा जारी उद्धार तथा राहत अभियानलाई थप प्रभावकारी बनाउन आवश्यक सञ्चार उपकरण जुटाउने प्रयासअन्तर्गत पुनले निजी क्षेत्र तथा सम्बन्धित संस्थाबाट सहयोग मागेका हुन् ।