एडुटेक नेपालले सोलुखुम्बुको टेङ्बोचे गोम्पा स्कूलमा कम्प्युटर ल्याब स्थापना गरेको छ । एडुटेक नेपालले टेङ्बोचे गोम्पा स्कूलमा २८५ औं कम्प्युटर ल्याब स्थापना गरेको हो ।
टेङ्बोचे ३ हजार ८६७ मिटरमा अवस्थित छ । यो अहिलेसम्मकै स्थापना भएको अग्लो कम्प्युटर ल्याब भएको एडुटेक नेपालका सीईओ अशोक डल्लीले बताए । ल्याब स्थापनाका लागि आवश्यक पर्ने सामग्रीहरू चौरीलाई बोकाएर कठिन यात्रा तय गर्दै लगिएको थियो ।
एडुटेक नेपालले नेपालका ३३ वटा जिल्लाका विभिन्न स्कुलमा कम्प्युटर ल्याब स्थापना गरेको छ । सन् २०११ मा बाग्लुङको उत्तरगंगा माविमा पहिलो ल्याब स्थापना भएको थियो । अहिलेसम्म देशका विभिन्न स्कुलमा २६५ वटा ल्याब स्थापना भइसकेका छन् ।
ल्याब स्थापनाका लागि न्युनिल्याण्डका नागरिक दम्पतिद्वय माइक चिशोल्म र शेरिल चिशोल्मले आर्थिक सहयोग गरिरहेका छन् ।
उनीहरू ४० वर्ष अगाडि नेपाल आएका थिए । १० वर्ष नेपाल बस्ने योजना बनाएपछि स्वास्थ्य समस्याका कारण २ वर्षमै न्युजिल्याण्ड फर्किनु पर्यो ।
फर्किएपछि माइकले सीए सिस्टमस् भन्ने कम्पनी स्थापना गरे र उक्त बिजनेसबाट आएको केही रकम नेपालमा ग्रामीण भेगमा प्रविधिमैत्री शिक्षा प्रदान गर्न खर्च गरिरहेका छन् ।