नेपालको सूचना प्रविधि क्षेत्रको सर्वोच्च छाता संस्था कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) ले ‘नेपाल–भारत डिजिटल कोरिडोर’ को अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई गति दिने, क्षेत्रीय नवप्रवर्तनलाई बढावा दिने र नेपाल–भारतलाई अग्रणी डिजिटल हबका रूपमा स्थापित गर्ने लक्ष्यसहित फ्रेमवर्क सार्वजनिक गरिएको हो।
यो कार्ययोजना क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइसिटी नीति विशेषज्ञ चिरन्जिबी अधिकारीको नेतृत्वमा तयार गरिएको हो । उनी विगत लामो समयदेखि आइसिटी क्षेत्रमा क्रियाशिल छन् ।
नेपालको आईटी दशक २०२४-२०३४ रणनीतिलाई भारतको डिजिटल सार्वजनिक पूर्वाधार (DPI) क्षमतासँग समायोजन गर्दै, दुवै मुलुकबीच सुरक्षित, दिगो र नवप्रवर्तन–उन्मुख डिजिटल वातावरण निर्माण गर्ने यो कोरिडोरको उद्देश्य छ ।
क्रस–बोर्डर फिनटेक एकीकरण, स्टार्टअप तथा नवप्रवर्तन सहकार्य, सीप, प्रमाणपत्र र प्राविधिक जनशक्ति आदान प्रदान, साइबर सुरक्षा सहकार्य, कृत्रिम बुद्धिमत्ता (AI) तथा अनुसन्धान साझेदारी, डिजिटल पूर्वाधार विकास र नीतिगत समायोजन गरी डिजिटल कोरिडोर फ्रेमवर्कका सात आधारस्तम्भ रहेका छन् ।
फ्रेमवर्क सार्वजनिक गर्दै अधिकारीले नेपाल–भारत मिलेर डिजिटल भविष्य निर्माण गर्न सक्ने बताए । यो कोरिडोरले आगामी दशकमा नेपालमा १५ लाख आईटी रोजगारी सृजना गर्ने तथा ३ अर्ब डलर बराबरको आईटी सेवा निर्यात लक्ष्यमा ठोस सहयोग गर्ने अनुमान गरिएको छ।
आईसीटी समाचार