कीवर्डहरू -

शिक्षकलाई एआईसँग जोड्दै AI4PEN, पृथ्वीनारायण विद्यालयमा तालिम सुरु

शिक्षकलाई एआईसँग जोड्दै AI4PEN, पृथ्वीनारायण विद्यालयमा तालिम सुरु

काठमाडौं । सार्वजनिक विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिएको ‘AI4PEN-Artificial Intelligence for Public Education in Nepal’ पहलअन्तर्गत काठमाडौंको तारकेश्वरस्थित पृथ्वीनारायण विद्यालयमा शिक्षकका लागि एआई साक्षरता तालिम सुरु भएको छ ।

रोटरी क्लब अफ यल र Danson Solutions को सहकार्यमा सञ्चालन भइरहेको AI4PEN अन्तर्गत पृथ्वीनारायण विद्यालयमा १७ सेप्टेम्बर २०२६ देखि शिक्षक तालिम औपचारिक रूपमा सुरु गरिएको हो । यो पहलमा समेटिने पृथ्वीनारायण विद्यालय दोस्रो सार्वजनिक विद्यालय बनेको आयोजकले जनाएको छ ।

कार्यक्रम विद्यालयका प्रधानाध्यापक नारायण शर्माको सम्बोधनबाट सुरु भएको थियो । उनले तीव्र गतिमा परिवर्तन भइरहेको डिजिटल परिवेशमा शिक्षक तथा विद्यार्थीलाई प्रविधिमैत्री बनाउन यस्ता कार्यक्रमको महत्त्व रहेको बताए ।

AI4PEN का संयोजक तथा रोटेरियन बसन्तराज श्रेष्ठले शिक्षामा कृत्रिम बुद्धिमत्ताको बढ्दो महत्त्वबारे प्रकाश पार्दै कार्यक्रमको अवधारणा, विकासक्रम र उद्देश्यबारे जानकारी दिए ।

नयाँ पुस्ताको आवश्यकता र बदलिँदो प्रविधिअनुसार शिक्षण पद्धतिमा समेत परिवर्तन आवश्यक रहेको भन्दै उनले शिक्षकले नयाँ प्रविधिलाई बुझेर जिम्मेवार ढंगले प्रयोग गर्नुपर्नेमा जोड दिए ।

Danson Solutions का विशाल क्षेत्रीले AI4PEN को समग्र अवधारणा, उद्देश्य तथा कार्यान्वयन प्रक्रियाबारे प्रस्तुति दिएका थिए । उनले शिक्षामा एआईको व्यावहारिक प्रयोगलाई अघि बढाउन विद्यालय तथा शिक्षकसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, सुनिलकुमार घर्तीले शिक्षामा एआईको महत्त्व, पाठ्यक्रममा एआईको समावेशीकरण तथा बदलिँदो सिकाइ वातावरण र आवश्यकताअनुसार शिक्षण विधिमा गर्नुपर्ने परिवर्तनबारे जानकारीमूलक प्रस्तुति दिएका थिए ।

पृथ्वीनारायण विद्यालयमा भएको उद्घाटन सत्रमा २७ जना शिक्षक, रोटेरियन तथा एआई प्रशिक्षकको सहभागिता रहेको थियो । कार्यक्रम साँझ ५ बजे सम्पन्न भएको थियो ।

null

किटिनीबाट सुरु भएको पहल
AI4PEN को यात्रा २१ अगस्ट २०२६ मा ललितपुरको गोदावरीस्थित किटिनी माध्यमिक विद्यालयबाट सुरु भएको हो । त्यहाँ ‘AI Literacy Teachers Training Programme’ को औपचारिक सुरुवात गरिएको थियो ।

सार्वजनिक विद्यालयका शिक्षकलाई एआईसम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गर्दै शिक्षण–सिकाइमा एआईको प्रभावकारी, जिम्मेवार र सिर्जनात्मक प्रयोग गर्न सक्षम बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

पाइलट कार्यक्रमअन्तर्गत किटिनी माध्यमिक विद्यालयका २५ जना शिक्षक १० हप्तासम्म सञ्चालन हुने ४० घण्टे संरचित तालिममा सहभागी छन् । तालिम प्रत्येक आइतबार सञ्चालन हुँदै आएको छ ।

तालिममा पाठ योजना निर्माण, शिक्षण–सिकाइ सामग्री विकास, उत्पादकत्व बढाउने डिजिटल उपकरणको प्रयोग, एआईको सुरक्षित तथा जिम्मेवार प्रयोग तथा शिक्षामा एआईबाट सिर्जना हुने अवसर र चुनौतीलगायतका विषय समेटिएका छन् । किटिनी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको तालिम पाँचौँ हप्तामा प्रवेश गरिसकेको आयोजकले जनाएको छ ।

रोटरी क्लब अफ यलले यसअघि ३० वटा विद्यालयमा ‘Teaching at the Right Level (TaRL)’ कार्यक्रम सञ्चालन गरिसकेको छ भने किटिनी माध्यमिक विद्यालयमा रोबोटिक्स शिक्षाका लागि समेत सहयोग गर्दै आएको छ । आयोजकका अनुसार किटिनी माध्यमिक विद्यालयबाट पृथ्वीनारायण विद्यालयसम्मको विस्तारले AI4PEN लाई थप सार्वजनिक विद्यालयमा विस्तार गर्ने आधार तयार गरेको छ ।

null

AI4PEN ले शिक्षकलाई एआई उपकरण तथा प्रविधिको प्रयोगमा आत्मविश्वास बढाउँदै त्यसलाई पाठ्यक्रम र कक्षा कोठाको अभ्याससँग जोड्ने लक्ष्य राखेको छ । एआईलाई शिक्षकको भूमिकाको विकल्पका रूपमा नभई शिक्षणलाई अझ प्रभावकारी, सिर्जनात्मक र उत्पादक बनाउने साधनका रूपमा प्रयोग गर्ने अवधारणा अघि सारिएको छ ।

हाल दुई सार्वजनिक विद्यालयमा कार्यान्वयनमा रहेको AI4PEN लाई रोटरी क्लब अफ यल र Danson Solutions ले नेपालका सार्वजनिक विद्यालयमा एआई साक्षरता, डिजिटल समावेशिता तथा प्रविधिमा आधारित शिक्षाको विकासका लागि व्यावहारिक नमुनाका रूपमा विस्तार गर्ने लक्ष्य राखेका छन् ।