कीवर्डहरू -

टेरामक्स प्रकरणमा पूर्वमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३ अर्ब २१ करोड बिगो

टेरामक्स प्रकरणमा पूर्वमन्त्रीसहित १६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा, ३ अर्ब २१ करोड बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रकरणमा अनियमितता भएको आरोपसहित १६ जना र २ कम्पनी गरी १८ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री मोहन बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा र पुरूषोत्तम खनालसहित १६ जनाविरुद्ध बिहीबार मुद्दा दायर गरिएको हो । 

यस्तै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन सदस्यहरु धनराज ज्ञवाली र टीका प्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजय कुमार राय, निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य उपनिर्देशक रेवती राम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद वस्ताकोटी र उपनिर्देशक अच्युतानन्द मिश्र र उपनिर्देशक संदिप अधिकारीलाई पनि प्रतिवादी बनाइएको छ । 

अख्तियारले परामर्शदाता कम्पनी भ्यानराइज सोलुसन्स एसएएल (अप्सोर) र सोका सीईओ जमल अनौटी तथा भ्यानराइजको लोकल एजेन्ट कनेक्सन ट्रेड लिंक र सोका अध्यक्ष दिलिप कुमार गुरूङ र निर्देशक तेज प्रसाद खरेलविरूद्ध मुद्दा दायर गरेको छ ।

१६ जना र कम्पनी उपर ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँ बिगो कायम गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपपसहित मुद्दा दायर गरिएको छ । 

तत्कालीन मन्त्री बस्नेतले आफ्नो क्षेत्राधिकार बाहिर गई एकल रूपमा निर्णय गरी कार्यान्वयनको लागि निर्देशन दिएको र सोही निर्देशन अनुसार नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरूले एक आपसमा मिलेमतो गरी  प्रचलित कानुन विपरीत कार्य गरेको अख्तियारको ठहर छ ।