कीवर्डहरू -

क्रिप्टो एक्सचेञ्ज प्लेटफर्म बाईबिट ह्याक, अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी

क्रिप्टो एक्सचेञ्ज प्लेटफर्म बाईबिट ह्याक, अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी

क्रिप्टो एक्सचेञ्ज प्लेटफर्म बाईबिट ह्याक भएको छ । बाईबिट ह्याक गरेर ह्याकरले प्लेटफर्मबाट करिब १.५ अर्ब डलर बराबरको इथेरियम (ईटीएच) चोरी गरेको छ । 

यो अहिलेसम्मकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी चोरी भएको बताइएको छ । बाईबिटका सीईओ बेन झाओले एक्समा पोस्ट गर्दै ह्याकरले एक्सचेन्जको एउटा कोल्ड (अफलाइन) वालेटको नियन्त्रण लिएर योजनाबद्ध ट्रान्सफरलाई ह्याक गरेर रकम अज्ञात ठेगानामा पठाएको बताएका छन् । 

‘साइन गरिएको म्यासेज हाम्रो ईटीएच कोल्ड वालेटको स्मार्ट कन्क्ट्र्याक्टको संरचना परिवर्तन गर्ने थियो," झाओले लेखेका छन्, ‘ह्याकरले उक्त ईटीएच कोल्ड वालेटको नियन्त्रण लिएर सबै ईटीएच अनजान व्यक्तिको ठेगानामा ट्रान्सफर गरेको छ ।’

अन्य सबै कोल्ड वालेटहरू सुरक्षित रहेको उनको भनाइ छ । उनका अनुसार पहिले नै साझेदार ब्रिज लोनहरूबाट चोरीको ८० प्रतिशत रकम सुरक्षित गरिसकिएको छ ।

ब्लकचेन सुरक्षा कम्पनी हालबर्नका सह-संस्थापक तथा कार्यकारी अध्यक्ष रोब बेन्केले यो केवल क्रिप्टो चोरी मात्र नभई सम्भवत: अहिलेसम्मकै सबैभन्दा ठूलो चोरी भएको ब्लुमबर्गलाई बताएका छन् । 

ब्लुमबर्गका अनुसार, ह्याक हुनुअघि बाईबिटसँग करिब १६.२ अर्ब डलर बराबरको सम्पत्ति थियो, र दैनिक कारोबार औसत ३६ अर्ब डलर थियो । शुक्रबार भएको चोरीले एक्सचेन्जको कुल सम्पत्तिको करिब नौ प्रतिशत ओगटेको छ । 

चोरीको खबर फैलिएपछि इथेरियमको मूल्यमा ६.७ प्रतिशतले गिरावट आएको छ भने बिटक्वाइनको मूल्यमा पनि तीन प्रतिशतले गिरावट देखिएको छ ।