सूचना प्रविधिको क्षेत्रमा क्रियाशील संस्था सीएसआईटी एशोशिएसन अफ रूपन्देहीले विद्यार्थीहरूको सीप अभिवृद्धि र व्यावसायिक विकासलाई लक्षित गर्दै ‘CSITAN Networking Bootcamp 2082’ नामक तीन दिने विशेष कार्यक्रम आयोजना गर्न लागेको छ ।
कार्यक्रम आगामी साउन २५ देखि २७ गतेसम्म तिलोत्तमाको ड्राइभरटोलस्थित होराइजन जीबीएस कलेजमा सञ्चालन हुनेछ ।
आईटी क्षेत्रमा आवद्ध विद्यार्थी, नेटवर्किङमा रुचि राख्ने युवा तथा व्यावसायिकहरूलाई लक्षित गरिएको उक्त बुटक्याम्पमा नेटवर्किङका आधारभूतदेखि व्यावसायिक पक्षसम्मका विषयहरूमा प्रशिक्षण दिइनेछ । प्रत्येक दिन ८ देखि ९ घण्टासम्म सञ्चालन हुने गहन तालिम सत्रमार्फत सहभागीहरूले व्यवहारिक अभ्यासका साथ सिक्ने अवसर पाउनेछन्।
कार्यक्रमका प्रमुख प्रशिक्षकका रूपमा आयुष चापागाईं रहनेछन्, जो नेटवर्किङ र साइबर सुरक्षामा अनुभवी प्रशिक्षक हुन्। उनले तीन दिनसम्म नेटवर्क संरचना, आईपी व्यवस्थापन, ट्राबलशुटिङ, साइबर सुरक्षा, सिस्को उपकरणमा अभ्यासलगायतका विषयहरूमा ह्याण्ड्स–अन ट्रेनिङ तथा समूहगत सिकाइका माध्यमबाट सहभागीहरूलाई प्रशिक्षण दिनेछन्।
कार्यक्रमबारे जानकारी दिँदै सीएसआईटी एशोशिएसन अफ रूपन्देहीका अध्यक्ष माधव पौडेलले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी प्रयोगात्मक रूपमा दक्ष बनाउने उद्देश्यका साथ बुटक्याम्प आयोजना गरिएको बताए । उनका अनुसार कार्यक्रममा करियर गाइडेन्स सेसन, प्रशिक्षकसँगको प्रत्यक्ष अन्तर्क्रिया, तथा समस्या समाधान अभ्यासहरू पनि समावेश हुनेछन् ।
यसले विद्यार्थीहरूलाई आईटी उद्योगको आवश्यकताअनुसार आफूलाई तयार पार्न, टिमवर्कमा दक्ष हुन र नेटवर्किङ प्रविधिको गहिरो समझ हासिल गर्न मद्दत पुर्याउनेछ ।
कार्यक्रममा सहभागी हुन चाहने विद्यार्थीहरूले अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ । दर्ता गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । कार्यक्रमको शुल्क ५०० रूपैयाँ तोकिएको छ ।