कीवर्डहरू -

सीटीईभीटीले प्रि-डिप्लोमा र डिप्लोमा तहमा ३३ सय बढीलाई छात्रवृत्ति दिदै, कसरी दिने आवेदन ?

सीटीईभीटीले प्रि-डिप्लोमा र डिप्लोमा तहमा ३३ सय बढीलाई छात्रवृत्ति दिदै, कसरी दिने आवेदन ?

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शैक्षिक सत्र २०८२/०८३ का लागि प्रि-डिप्लोमा र डिप्लोमा/प्रमाणपत्र तहमा ३३ सय बढीलाई छात्रवृत्ति दिने भएको छ । 

यसका लागि सीटीईभीटीले असार २३ गतेदेखि साउन ११ गतेसम्म इच्छुक विद्यार्थीहरूलाई आवेदन दिन अनलाइन फारम खुलाएको हो ।  आवेदनका लागि यहाँ क्लिक गरी रजिष्टरमा गएर फाराम भर्न सकिने छ । 

प्रि-डिप्लोमा तहका लागि सीटीईभीटीले १६ वटा कार्यक्रम अन्तर्गत १ हजार २१५ कोटा निःशुल्क छात्तवृत्तिमा छुट्याएको छ । कृषि (प्लान्ट साइन्स), पशुपालन तथा एनिमल हेल्थ, भेटेरिनरी विज्ञान, सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, वाटर सप्लाई एन्ड स्यानिटरी, सर्वे, कम्प्युटर, मेकानिकल तथा अटोमोबाइल इन्जिनियरिङ, उद्यमशीलता विकास, होटल म्यानेजमेन्ट, कुलिनरी आर्ट समावेश छन्। एसईईमा नन ग्रेडेड ल्याएको विद्यार्थीले पनि प्रिडिप्लोमा तह अध्ययन गर्न पाउने छन् ।

त्यस्तै सीटीईभीटीले डिप्लोमा तहमा स्वास्थ्य बाहेकका २२ वटा कार्यक्रम अन्तर्गत २ हजार १६५ कोटा छात्रवृत्तिका लागि छुट्याएको छ । यसमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, जिओमेटिक्स, आर्किटेक्चर, मेकानिकल तथा मेकाट्रोनिक्स इन्जिनियरिङ, होटल म्यानेजमेन्ट, फरेष्ट्री, पशु विज्ञान, बाली विज्ञान जस्ता विषयहरू समावेश छन् । 
सीटीईभीटीले स्वास्थ्यतर्फका शैक्षिक कार्यक्रमहरूका लागि भने छुट्टै छात्रवृत्तिको आवेदन खुलाउने छ ।

छात्रवृत्तिका लागि आवेदन दिन प्रि-डिप्लोमा तहमा ५०० रूपैयाँ र डिप्लोमा तहमा १ हजार रूपैयाँ शुल्क लाग्ने छ । एक विद्यार्थीले अधिकतम एउटा शैक्षिक कार्यक्रमको लागि मात्र छात्रवृत्ति आवेदन दिन सक्नेछन् । शुल्क कनेक्ट आईपीएस र खल्ती वालेटबाट बुझाउन सकिने छ । 

छात्रवृत्तिप्राप्त विद्यार्थीहरूबाट सम्बन्धित शैक्षिक संस्थाले कुनै पनि प्रशिक्षण, प्रयोगात्मक, रजिस्ट्रेसन, परीक्षा आवेदन, पुस्तकालय तथा प्रयोगात्मक स्थलसम्मको यातायात शुल्क लिन नपाउने प्रावधान छ । तर खाना, बसोबास, पोसाक र आवश्यक स्टेशनरीको व्यवस्था विद्यार्थी आफैंले गर्नुपर्नेछ।

सीटीईभीटीले छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्ययन पूरा गरेपछि नेपाल सरकारले तोकेको स्थानमा निश्चित समय सेवामा खटिनुपर्ने शर्तसमेत राखेको छ। छात्रवृत्तिमा सिफारिस भएका विद्यार्थीले पछि कार्यक्रम परिवर्तन गर्न पाउने छैनन् । छात्रवृत्ति र आवेदन प्रक्रिया बारे थप जानकारी यहाँ क्लिक गरेर लिन सकिने छ ।