कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले डेटा सेन्टर र क्लाउड सेवालाई नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित ‘क्यान बिटुबी (B2B) समिट २०२५’ लाई सम्बोधन गर्दै उनले बलियो डिजिटल पूर्वाधार बिना नेपालको डिजिटल सपना साकार हुन नसक्ने स्पष्ट पारेका हुन् ।
प्रविधि अब केवल सुविधा मात्र नभई अर्थतन्त्रको प्राणवायु बनिसकेको उल्लेख गर्दै सुरक्षित र भरपर्दो डेटा भण्डारणको सुनिश्चितता नभए डिजिटल रूपान्तरणका प्रयासहरू दिगो हुन नसक्ने उनको भनाइ छ ।
डिजिटल पूर्वाधारमा लगानी अपरिहार्य
वरिष्ठ उपाध्यक्ष अधिकारीले स्टार्टअपदेखि ठूला उद्योगसम्मका लागि क्लाउड सेवा अपरिहार्य भइसकेको बताए ।
‘क्लाउड पूर्वाधारले उद्यमीहरूलाई सर्भर व्यवस्थापन र सुरक्षामा लाग्ने ठूलो पुँजीगत खर्चबाट मुक्त गर्छ,’ उनले भने, ‘इ–कमर्स, फिनटेक र आइटी सेवा निर्यातमा नेपाली युवाहरूको बढ्दो आकर्षणलाई व्यवहारमा उतार्न भरपर्दो क्लाउड पूर्वाधार अनिवार्य छ।’
विश्वव्यापी तथ्याङ्क प्रस्तुत गर्दै उनले सन् २०३० सम्ममा डेटा सेन्टर बजारको आकार ६०२ बिलियन अमेरिकी डलरभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको जानकारी दिए। इस्टोनिया, सिंगापुर र भारतजस्ता देशहरूले डिजिटल पूर्वाधारमा समयमै लगानी गरेकै कारण विश्वव्यापी प्रतिस्पर्धामा अग्रता लिएको उदाहरण दिँदै नेपालले पनि अब ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।
नेपालको रणनीतिक भौगोलिक अवस्थाको सदुपयोग गर्दै दक्षिण एसियाकै ‘टेक हब’ का रूपमा विकास गर्न सकिने सम्भावना रहेको उनले बताए । सार्वजनिक–निजी साझेदारी (PPP) मार्फत विदेशी लगानी आकर्षित गर्न यो उपयुक्त समय भएको उनको भनाइ छ ।
तीन बुँदे सुधारको खाका
नेपालको डिजिटल क्षेत्र साइबर सुरक्षाका दृष्टिले अझै संवेदनशील रहेको र दक्ष जनशक्तिको अभाव रहेको स्वीकार गर्दै अधिकारीले तीन मुख्य सुधारका आवश्यकता औंल्याएः
- नीतिगत सुधार : डेटा संरक्षण, साइबर सुरक्षा र डेटा स्थानीयकरण (Data Localization) सम्बन्धी स्पष्ट, व्यावहारिक र लगानीमैत्री कानुनको निर्माण।
- दक्ष जनशक्ति विकास : विश्वविद्यालय र उद्योगबीच सहकार्य गरी बजारको मागअनुसारको जनशक्ति उत्पादन।
- डिजिटल समावेशिता : डिजिटल रूपान्तरणलाई काठमाडौँ केन्द्रित नराखी ग्रामीण भेगसम्म विस्तार गर्न दूरसञ्चार विकास कोषको प्रभावकारी उपयोग।
आईसीटी समाचार