चिनियाँ एआई स्टार्टअप डिपसिकले यतिबेला अमेरिकामा हलचल मच्चाइरहेको छ । एआईको क्षेत्रमा रहेको अमेरेकी वर्चस्वलाई डीफसिकले ठूलो चुनौती दिएको छ ।
डिपसिकको उदयसँगै सोमबार मात्रै शक्तिशाली एआई चीप बनाइरहेको अमेरिकी कम्पनी एनभीडीयाको बजारमा मूल्य ६०० बिलियन अमेरिकी डलरले घटेको छ ।
यो, अमेरिकाको इतिहासमै कुनै पनि कम्पनीका लागि एक दिनमा भएको सबैभन्दा ठूलो गिरावट हो । यस्तै एप्पलको एप स्टोरमा पनि च्याटजीपीटीलाई उछिन्दै छोटो समयमै अमेरिकामा सबैभन्दा डाउनलोड हुने फ्री एप बनिसकेको छ, सिपसिक । एप स्टोरबाट डिपसिक २० लाख पटक बढी डाउनलोड भइसकेको छ ।
गत जनवरी २० मा डीपसिकले ‘डीपसिक आर वान’ मोडल सार्वजनिक गरेको थियो । यसलाई लिएर अहिले विश्वभर चर्चा भइरहेको छ । चारैतिर डिपसिक प्रशंशा भइरहेको छ ।
कम लागत र लो पावर एआई चीप्सको प्रयोग गरेरै डिपसिकको आरवान मोडेलले ओपन एआईको जीपीटी ४, मेटाको लामा, गूगलको जेमिनाइ लगायतका एआई च्याटबट जस्तै क्षमता रहेको छ । डिपसिक पनि च्याटजीपीटी, जेमिनाई जस्तै एआई च्याटबट हो ।
खासमा डिपसिक बनाउने कम्पनी एक वर्ष पुरानो मात्रै हो । सन् २०२३ को अन्त्यतिर मात्रै चीनको हांग्जाउमा यसको स्थापना भएको थियो । डिपसिकले करिब ६ मिलियन अमेरिकी डलरमै नयाँ मोडेल तयार गरेको छ । जबकी अमेरिकी कम्पनीहरूले एआईको पूर्वाधार विकासमा खर्बौ रकम लगानी गरिरहेका छन् ।
पूर्ण ओपन सोर्समा आधारित डिपसिक सन् २०२३ मा चिनियाँ हेज फण्ड म्यानेजर लियाङ वेनफेङले स्थापना गरेका थिए । उनलाई चीनको स्याम अल्टम्यान भनेर पनि चिनिन्छ ।
अमेरिकालाई ठूलो चुनौती
चिनियाँ एआई स्टार्टअप कम्पनी डिपसिकले सिलिकन भ्यालीमा ठूलो हलचल ल्याएको छ । एआईको विकासमा खर्बौ लगानी गरिरहेका कम्पनी ओपन एआई, गूगल, माइक्रोसफ्टलाई एक वर्ष अगाडि स्थापना भएको डिपसिकले ठूलै टक्कर दिन खोजेको छ ।
एआई, बढी ऊर्जा-खपत गर्ने र खर्चिलो प्रविधि हो । अमेरिकाका ठूलो कम्पनीहरूले हाल आफ्ना एआई मोडलहरूलाई आवश्यक विद्युत् आपूर्ति गर्न परमाणु ऊर्जा कम्पनीहरू किनिरहेका छन् ।
मेटाले गत हप्ता यस वर्ष एआई विकासमा ६५ अर्ब अमेरिकी डलर भन्दा बढी खर्च गर्ने बताएको थियो । ओपनएआईका सीईओ स्याम अल्टम्यानले गत वर्ष एआई उद्योगलाई उच्च माग भएका चिपहरू विकास गर्न आवश्यक पर्ने विद्युत्-खपत गर्ने डाटा सेन्टरहरू चलाउन ट्रिलियनौं डलर लगानी आवश्यक पर्ने बताएका थिए ।
तर चीनले हासिल गरेको उपलब्धिले एआई उद्योगमा हुने लगानीको बुझाइमा ठूलो परिवर्तन ल्याएको छ ।चीनलाई एआईको दुनियाँमा पछाडि पार्न अमेरिकाले ठूलो प्रयास गरेको थियो ।
त्यसैका लागि नै सुरक्षाको कारन देखाउँदै अमेरिकाले हाई पावर एआई चिप्स निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर प्रतिबन्धका बाबजुद चीनले एआईमा ठूलो सफलता हासिल गरेको छ ।
यसले पनि चीन एआईको दौडमा पछाडि नरहेको र इन्नोभेसनलाई कसैले छेक्न नसक्ने स्पष्ट सन्देश दिइसकेको छ ।